ओली सरकार आएपछि ७ खर्ब बढ्यो ऋण।

चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२ प्रतिशत बढेको छ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

‘गत फागुनसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यो सोही अवधिको कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत हो ।’ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का हिसाबले ३७.३ प्रतिशत हालसम्मकै उच्च हो । विगतको आँकडाअनुसार केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपछि सार्वजनिक ऋण करिब ७ खर्ब रुपैयाँ बढेको छ । यो सरकार आउनुपूर्व ९ खर्ब १६ अर्ब रुपैयाँ मात्रै सार्वजनिक ऋण थियो । आगामी असार मसान्तसम्म यो रकम दोब्बर हुने निश्चित छ ।

चाल आर्थिक वर्षमा मुलुकमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए । यसअघि स्वास्थ्य संकटको अवस्थामा सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत अनुमान गरिएको थियो । तर, कोभिडको दोस्रो लहरको संक्रमण तीव्र बनिरहेकाले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने काम चुनौतीपूर्ण रहेको उनको भनाइ छ । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । पछि केन्द्रीय तथ्यांक विभागले त्यसलाई संशोधन गरी ४.०१ प्रतिशत तय गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button