ओलीले माधव नेपाललाई “लाज सरम नभएको ब्यक्ति” भन्दै खरो जवाफ दिए।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाज, सरम नभएको व्यक्ति भन्दै खरो टिप्पणी गर्नुभएको छ ।
आइतबार तेस्रो महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालमाथि अनुशासनहीनता, आफ्नै सरकार ढाल्न लागिपर्ने भन्दै प्रधानमन्त्री ओलीले सरम नभएको भन्दै खरो टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘जब राजनीतिक दल, नेताहरु अनुशासनहीनता, अराजकता, फ्लोर क्रस, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने, दुनियाँमा कहीँ इतिहासमा नभएको । आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्काे सरकार बनाउनका लागि त्यहाँ पुग्ने ।’
नेता नेपालले दलीय अनुशान मिचेर काम गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘दलीय अनुशासन, मर्यादा, संसदीय प्रणाली या अरु कुनै अनुशासनको प्रणाली । तिनले खाएको सपथ झूठो हो । तिनका सपथ बेइमानी हो । तिनले खाएको सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएको सपथ सम्झिनुस् त । तिनले कहाँ कहाँ सपथ खाए होला ? तर, देशको विरुद्ध बडो अनिष्ट काम गरिरहेका छन् । जब नेतृत्व तहबाट यस्ता कामहरु हुन्छन्, सरम छैन ।’
यसरी माथिबाटै धमिलो पानी बगेपछि तलबाट सङ्लो पानी नआउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘माथिबाटै धमिलो पानी बगाउने काम भइरहेको छ, यो चिन्ताको विषय छ ।’