झुटो विवरण र पैसा खुवाएर नागरिकता लिनेमा भारतीय र भुटानिहरुको लर्को।

प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा झूटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा दर्जनौं भारतीयविरुद्ध उजुरी परेका छन् । गाउँमै नागरिकता टोली खटिएका बेला र प्रशासन कार्यालयबाटै पनि पैसा खुवाएर (आर्थिक लेनदेन) भारतीयले नेपाली नागरिकता लिने गरेका हुन् । त्यस्ता ‘नवनागरिक’ मध्ये केही आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ ।

भारतीयले नागरिकता लिएको भन्दै परेका कतिपय उजुरीको भने छानबिन भइरहेको र केही नागरिकता रद्द गर्न सिफारिस गरिएको प्रशासन कार्यालयहरूले दाबी गरेका छन् ।

झूटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै रौतहटको राजापुर नगरपालिका–२ का मोहम्मद नाजिरलाई प्रहरीले केही साताअघि पक्राउ गर्‍यो । उनी भारतीय नागरिक भएको र झुक्याएर नागरिकता लिएको प्रशासनमा उजुरी परेपछि अनुसन्धान भइरहेको छ । नाजिरलाई अहिले हाजिरी जमानीमा छोडिएको छ । नाजिरले २०७५ असोज १४ मा रौतहट प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका नातेदार मेराजुल हक मियाँ र शेष सरुल्लाहविरुद्ध पनि झूटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा अनुसन्धान जारी छ । उजुरीमा उनीहरू पनि भारतीय भएको उल्लेख छ ।

जिल्लाकै साविक जिंगडिया गाविसमा २०६३ मा खटिएको प्रशासनको टोलीले ३० जनाभन्दा बढी भुटानी नागरिकलाई पनि नागरिकता दिएको थियो । जिंगडिया गाउँभरि मुस्लिम, साह, चमार, बनिया, कानु, यादवलगायत समुदाय र जातिको मात्र बसोबास छ । तर गौतम, भट्टराई, तिमल्सिना, न्यौपाने, आचार्य, पौडेल र कार्की थरका ३० जनाभन्दा बढी भुटानीले टोलीका सदस्यलाई आर्थिक प्रलोभनमा पारेर नागरिकता लिएको खुलेको छ । २०६३/६४ को टोली नम्बर ११ बाट उनीहरूले त्यहीं जन्मेको झूटो विवरण पेस गरी नागरिकता लिएका हुन् । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको रजिस्टरमा उक्त टोलीले ६३ जनालाई जन्मका आधारमा नागरिकता दिएको उल्लेख छ । भुटानीले नागरिकता लिँदा तयार रजिस्टरको कैफियतमा सचिवको नामसमेत उल्लेख छैन ।

रौतहटमा एक वर्षयता झूटो विवरण पेस गरी भारतीयले नागरिकता लिएको आरोपमा ११ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘झुक्याएर वा झूटो विवरण पेस गरेर नागरिकता लिएका भनिएकाविरुद्ध छानबिन भइरहेको छ,’ उनले भने, ‘केहीको नागरिकता रद्द गर्न गृह मन्त्रालयमा पत्र पठाएका छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button