आँधीको जोखिम बाट बचाउ भन्दै बंगलादेशमा विशाल प्रदर्शन।

ढाका: बंगलादेशको मेनल्याण्ड टापुमा रहेका रोहिंग्या शरणार्थीहरुले आफ्नो बसोबासको अवस्था सुधार्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
भास्ट क्याम्पबाट जवर्जस्ती मेनल्याण्ड टापुमा सारिएका हजारौँ रोहिंग्या शरणार्थीहरुले सोमबार प्रदर्शन गरेका हुन् । उनीहरुले आफ्नो बस्ती आँधीको जोखिममा रहेको भन्दै सरकारसँग यसबाट बच्न विकल्प खोजिदिनुपर्ने माग राखेका छन् ।
गत वर्षको डिसेम्बरदेखि कक्स बजार क्षेत्रमा रहेका १ लाख रोहिंग्या शरणार्थीहरुमध्ये १८ हजार रोहिंग्यालाई समुद्री छाल र आँधीको जोखिमयुक्त क्षेत्र भासन चर क्षेत्रमा जवर्जस्ती स्थानान्तर गरिएको हो ।
उनीहरुमध्ये धेरैजसो म्यानमारको सैनिक शासनको २०१७ को नरसंहारबाट भागेर बंगलादेश आइपुगेका थिए । सोमबारको प्रदर्शनमा भने ४ हजार रोहिंग्या शरणार्थीहरु सहभागी भएको प्रहरीले बताएको छ ।
प्रदर्शनको क्रममा प्रहरीसँग उनीहरुको झडप समेत भएको बताइएको छ । सहज जीवन यापनको माग गर्दै आन्दोलन गरिरहेका उनीहरुलाई दबाउन खोज्दा प्रहरीसँग झडप भएको थियो ।
शरणार्थीहरुका अनुसार उनीहरुलाई गत डिसेम्बरमा प्रहरीले कुटपिट गरी जवर्जस्ती यस असुरक्षित स्थानमा सारिएको थियो । बंगलादेश सरकारले भने उनीहरुको आरोप अस्वीकार गर्दैआएको छ । उक्त टापु सुरक्षित नै रखेको सरकारको दावी छ ।