दलको जिम्मेवारी पुस्तान्तरणको गफ चुट्ने नेताहरु।

अबको महाधिवेशनमा एमालेको नेतृत्व लिन को अग्रसर होला ? प्रायःको जवाफ आउँछ– केपी ओली। कांगे्रसको ? शेरबहादुर देउवा। माओवादीको ? पुष्पकमल दाहाल। राष्ट्रिय जनमोर्चाको ? चित्रबहादुर केसी। अनि, नेमकिपाको ? नारायणमान बिजुक्छे।
कुनै दलमा प्रतिस्पर्धा होला, कुनैमा नहोला। तर, यी अनुहारै दोहोरिने करिब–करिब पक्का छ। यी सबै नेता उमेरले आराम गर्ने बेलामा पुगिसकेका छन्। पुस्तान्तरणको कुरा गरेर थाक्न लागेका छन्, तर नेतृत्वको स्वादबाट अघाएका भने छैनन्। नवौं महाधिवेशनबाट एमालेले नेतृत्वका लागि ७० वर्षे हदम्याद तोक्यो। तर, केन्द्रीय कमिटीको फागुन २८ को बैठकले पार्टी विधानमा संशोधन गरेर हदम्याद हटायो। यो प्रावधानले एमालेको मूल नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने सम्भावना सकिएको छ। नेतृत्व दोस्रो पुस्ता हस्तान्तरणको माग उठेपछि एमालेले महाधिवेशनबाटै यस्तो प्रावधान विधानमा राखेको थियो।
कांग्रेसमा शेरबहादुर देउवाले आफूलाई दोस्रो पुस्ताको नेता दाबी गर्थे। तर, उमेरका हिसाबले देउवा पहिलो पुस्ताकै हुन्।
महाधिवेशन केन्द्रित देउवाको रणनीतिका कारण कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण सम्भावना कमै रहेको नेताहरू बताउँछन्।
माओवादी केन्द्रमा त प्रचण्डको एकल हालीमुहाली छ। दोस्रो पुस्तामा त परै जाओस, बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरूले पार्टी छोडेका कारण प्रचण्डभन्दा अर्को व्यक्तिमा पार्टीको नेतृत्व जाने कुरा कल्पना गर्न नसकिने माओवादी केन्द्रका एक नेताले बताए।
संसदमा एक÷एक सिट रहेका नेमकिपा ३० वर्षदेखि नेतृत्व एकै व्यक्तिको छ। अर्को एक सिटको दल राजमोमा चित्रबहादुर केसी २२ वर्षभन्दा बढीदेखि एक्लै नेतृत्व हाँकिरहेका छन्। मधेस केन्द्रित दलहरू त नेतृत्वकै टकराव र भागबण्डाको राजनीतिका कारण टुट्ने र फुट्ने सामान्य प्रक्रिया जस्तै छ। ‘पार्टीहरूको सुशासन देखाउने र सुनाउने मात्र भयो,’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ‘हाम्रो नेतृत्व नै झेली छ। अरूमा नेतृत्व जान नदिन अनेक झेल गरिरहन्छ।’