अस्पतालको लापरवाहीले बिरामी बेड बाट लडेर मृत्यु।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बेडबाट लडेर ५५ वर्षीया महिलाको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।

सिराहाको गोलबजारकी महिला कोभिड अस्पतालको बेडबाट लडेर सोमबार बेलुका ७ बजे मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् । मृतक महिलाका आफन्तले अस्पतालमा चरम लापरबाही भएको आरोप लगाएपछि प्रतिष्ठानले समिति बनाएर घटनाको छानबिन गर्ने भएको छ ।

मृतकका ज्वाइँ धननारायण श्रेष्ठका अनुसार मधुमेहको स्तर १९४ पुगेपछि सिरहाबाट उपचारका लागि जेठ १२ गते राति प्रतिष्ठानको इमर्जेन्सी विभागको अब्जर्भेसन वार्डमा भर्ना गरिएको थियो । उनलाई १४ गते कोरोना पुष्टि भएको थियो ।

डाक्टर नर्सहरूले आइतबार बेलुकीसम्म बिरामीको अवस्था सामान्य छ भने पनि सोमबार दिउँसो २ बजे कुरुवाहरूलाई दिइएको काउन्सिलिङमा बेडबाट लडेर अलिकति चोट लागेको जानकारी दिएका थिए । श्रेष्ठले भने, ‘फेरि ३ बजे लडेका कारण नाक र निधार फुटेको छ, आइसले सेकिरहेका छौं भनेर जानकारी दिए । तर बिरामी बेडबाट कसरी लडिन् ? लड्नुको कारण के हो ? को जिम्मेवार हुने ? डाक्टर र नर्सहरू के हेरेर बसे ?’

बेडबाट लडेपछि बिरामीको अवस्था गम्भीर भएको जानकारी दिए तर थप उपचारका लागि आईसीयू वा भेन्टिलेटरमा नराखेपछि नेपाली सेनाका क्याप्टेनसमेत रहेका श्रेष्ठले तत्काल भेन्टिलेटरमा किन नराखेको भनेर अस्पताल प्रशासनसँग प्रश्न गरेका थिए । प्रतिष्ठानले भेन्टिलेटरमा राखेको जानकारी दिएको आधा घण्टा नबित्दै राति ७ बजे मृत्यु भएको जानकारी दिइएको श्रेष्ठले बताए । कोभिड अस्पतालमा भर्ना भएकी आफ्ना सासूआमालाई बाँधेर भुइँमा लडाएर राखेको पनि जानकारी प्राप्त भएकाले त्यसको कारण पनि खुलाउन श्रेष्ठले माग गरेका छन् ।

अस्पतालकै लापरबाहीले मृत्यु भएकाले छानबिन हुनुपर्ने माग गरेपछि मंगलबार छानबिन समिति बनाइएको छ । कोभिड अस्पतालमा सीसीटीभी पनि जडान गरिएकाले फुटेज हेर्न माग गरे पनि सबै फुटेज हेर्न नदिएको श्रेष्ठले बताए । उनले भने, ‘अस्पतालले चित्तबुझ्दो जवाफ दिन सकेको छैन । लडेको भनिएको समय पहिचान गर्न सीसीटीभी फुटेज हेर्न पाइएको छैन । तैपनि आज (मंगलबार दिउँसो) शव भने जिम्मा लिएका छौं ।’

प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले मृतकका आफन्तले सीसीटीभी फुटेज हेरेर शव बुझेको बताए । उनले भने, ‘तर फुटेजमा बेडबाट लडेको देखिएन । अस्पताल प्रशासन र मृतकका परिवारबीच महिलाको मृत्यु प्रकरणबारे आन्तरिक छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्ने सहमति भएको छ ।’

उक्त घटनासँगै प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन आपूर्ति गर्ने पाइपलाइन र अक्सिजन प्लान्टबाट प्रेसर नपुग्दा एकैपटक पाँच जनाको मृत्यु भएको बारेमा पनि आन्तरिक छानबिन समिति गठन गरिएको जानकारी आफूलाई दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका थिए ।

यसैबीच प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत संक्रमित बिरामीका आफन्तजनहरूले कसरी उपचार भइरहेको छ भनेर यथार्थ जानकारी पाउन नसकेको भन्दै सीसीटीभी स्क्रिनबाट बाहिर बसेका कुरुवाहरूले पनि हेर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button