नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छैन, डब्लु. एच. ओ.

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।
बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो। डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो।
डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ। नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ।
तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ। डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन। नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्। यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो।’
डब्लुएचओले हालै मात्र भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिएको छ। यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो। यूकेमा देखिएको भेरिएन्ट बी.१.१.७ लाई अल्फा नामकरण गरिएको छ। उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो। त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी.१.३५१ लाई बिटा नाम दिइएको छ।
त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ। ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए।
भारतमा देखिएको नयाँ भेरियन्ट ( बी.१.६१७.२) लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो। ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन्।
भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी.२ ले जिटा नाम पाएको छ। फिलिपिन्सको पी.३ लाई थिटा तथा अमेरिकामा देखिएका बी.१.५२६ लाई आयोटा र बी.१.४२७/बी.१.४.२९ लाई एप्सिलन नाम दिइएको छ। त्यस्तै विभिन्न देशहरूमा देखिएको पी.३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ।