चिनी प्रतिकिलो ६३ र ग्यास ११ सय २० मा बेच्ने-साल्ट ट्रेडिङ

साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो ।

जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए। त्यस्तै पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने उनले बताए ।

पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने जोशीले जानकारी दिए । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।

काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्यास भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button