नेपालले पाउने भयो ७० लाख अमेरिकी खोप।

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ डा. टीकाप्रसाद ढकालले नेपालको अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले खोप उपलब्ध गराउने जनकारी आएको बताएका हुन् ।

‘राष्ट्रपतिज्यूको अग्रसरता  र नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को  सफलता प्राप्त भएको छ’, ढकालले भने, ‘हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने जानकारी गराएको छ ।’

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ विरुद्धको खोप सहयोगको घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

बाइडेनले संसारभर अमेरिकाले दिने खोप सहयोगको घोषणा गरेका हुन् । नेपालसहित एसियाका विभिन्न देशले ७० लाख डोज कोरोनाविरुद्धको खोप पाउने दूतावासले जनाएको हो ।  एसियाका विभिन्न देशलाई दिएको ७० लाख डोजमध्ये कति नेपालले पाउने भन्ने विषयमा दूतावासले केही खुलाएको छैन।

‘हामी विश्वव्यापी रूपमा नै कोभीड–१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड–१९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको छ’, नेपालस्थित अमेरिकी दूतावासले फेसबुकमा लेखेको छ, ‘कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशले झन्डै ७० लाख डोज कोभिड–१९ भ्याक्सीन प्राप्त गर्नेछन्। हामी सबै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।’

अमेरिकाको यो घोषणा लगत्तै प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका छन् । उनले अमेरिकी घोषणाको ट्वीटरमार्फत स्वागत गर्दै धन्यवाद दिएका हुन ।

अमेरिकाले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भियतनाम, थाइल्याण्ड, श्रीलंका, अफगानिस्तान, इन्डोनसिया, मलेसिया फिलिपिन्स, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइल्याण्डलाई झण्डै ७० लाख डोज खोप उपलब्ध गराएको जनाएको छ ।

यससँगै अमेरिकाले विश्वभर २ करोड ५० लाख खोप उपलब्ध गराएको छ । जुन महिनाको अन्त्यसम्म ८ करोड डोज खोप विश्वभर उपलब्ध गराउने घोषणा गरेको अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख वितरण गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button