अन्जनको गोलमा नेपाल अगाडि

नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएको थियो । लामो फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट वु चुन चिङले प्रहार गरेको हेडरलाई कप्तान किरण चेम्जोङले सहजै बचाए । १६ औं मिनेटमा सन्तोषको लामो पासलाई सुनिल बलले लखेटेपनि गोलरक्षक शिह शिनले अगाडी आएर बचाए ।

२२ औं मिनेटमा सुनिलले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रयास निकै फितलो रहयो । २४ औं मिनेटमा अन्जनले लेफ्ट विंगमा दुई डिफेन्सलाई बिट गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक शिनले बचाए । ३२ औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

 

पहिलो हाफमा नेपालले बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुन्ने प्रयास गरिरहेको छ । ताइपेइले पनि काउन्टर अट्याकमा आक्रमण बुन्दै नेपाली डिफेन्सलाई सहज अवस्था दिएको छैन । यो खेलमा पराजित भए ताइपेइ समूहको पुछारमा रहने पक्का हुनेछ ।

 

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका थिए । नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामाले टोलीमा स्थान बनाए । गोलरक्षक किरण चेम्जोङ र सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाए ।

लेफ्ट ब्याकमा सुमन अर्याल तथा राइट ब्याकमा गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर सुरुवात गरेका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँग सन्तोष तामाङ र सुमन लामा तथा आक्रमणमा अन्जन विष्टलाई आशिष र सुनिल बलले साथ दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button