राजनितिमा गुट परिवर्तन गर्ने सक्नेलाई अबसरै अबसर।

राजनीतिमा गुट परिवर्तन गर्न सक्यो भने अवसर नै अवसर मिल्ने रहेछ। संसदीय राजनीतिमा मन्त्री बन्नका निम्ति कसैले जीवनभर संघर्ष गर्नुपर्छ। कसैलाई भने अवसरहरु बारबार आइरहन्छन्। कसैलाई अवसरले देख्दै देख्दैन भने कसैका वरिपरि अवसर घुमिरहन्छ।
नेता रघुवीर महासेठ र जुलीकुमारी महतो दम्पत्तिले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा आलोपालो मन्त्री बन्ने अवसर पाएका छन् भने शेरबहादुर तामाङ र उशाकला राई दम्पत्तिले केन्द्र र प्रदेश सरकारमा मन्त्री बन्ने अवसर पाएका छन्।
रघुवीर र जोलीकुमारी आलोपालो
प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते मन्त्रिपरिषद् विस्तार गर्दा रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री बने। २०७७ पुस १० गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा २० महिना मन्त्री बनेका उनी ओली सरकारबाट बाहिरिए।
२०७७ पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि माओवादी केन्द्र र माधवकुमार नेपाल समूहबाट सहभागी केही मन्त्रीले राजीनामा दिए। त्यसपछि पुन मन्त्रिपरिषद् पुनर्गठन भयो। सुरुमा नेकपा भंग नहुँदासम्म प्रचण्ड–नेपाल समूहमा रहेकी महासेठ पत्नी जुलीकुमारी महतो मन्त्री पाउने भएपछि ओली समूहमा पुगिन्। गुट परिवर्तन गरे लगत्तै उनले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाइन्।
शुत्रबार जनता समाजवादी पार्टी जसपा सरकारमा सहभागी हुनेभएपछि ओलीले पुनः मन्त्रिपरिषद् पुनर्गठन गरे। यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिँदा उनकी पत्नी जुली सरकारबाट बाहिरिइन्।
शेरबहादुरका दम्पत्ति नै मन्त्री
यसअघि सरकारमा कानुनमन्त्री रहेका शेरबहादुर तामाङले बंगलादेशमा पढ्ने छात्राका विषयमा बोल्दा पद गुमाएका नेता हुन्। छात्राको विषयमा सार्वजनिक कार्यक्रममा बोलेको विषयमाथि चर्को आलोचना भएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएका थिए।
पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि एमाले माधव नेपाल समूहमा रहेका तामाङ केही समयअघि पत्नी उशाकला राईसहित ओली समूहमा लागेका हुन्। सुरुमा प्रतिनिधिसभा विघटनको विरुद्धमा भएका सभा र जुलुसमा सहभागी भएको यो जोडी फागुन ८ गते ओली समूहमा फर्किएको थियो।
त्यसपछि नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी पाएका तामाङले महामारीको समयमा महत्वपूर्ण मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा शुक्रबार शपथ लिँदैछन्।
तामाङ पत्नी उषाकला राई प्रदेश १ मा सामाजिक विकासमन्त्री छिन्। तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् भने उषाकला प्रदेश १ प्रदेशसभाकी समानुपातिक सांसद हुन्।