चौतर्फी विरोधपछि उपप्रधानमन्त्री महतोको स्पष्टिकरण।

आफ्नो विवादास्पद अभिव्यक्ति चौतर्फि विरोध भएपछि उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाउनुभएको छ ।
शुक्रबार उपप्रधान तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उहाँले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिनु भएको थियो । शनिबार पनि आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रममा उहाँलो उक्त अभिव्यक्ति दोहोर्याउनु भएको थियो ।
उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महतोले शनिबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पार्नुभएको हो ।
जारी विज्ञप्तिमामा भनिएको छ– ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।’