विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अस्पतालमा बिरामी कुरुवा प्रतिक्षालय निर्माण!!

राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल बेलझुण्डीमा बिरामीका कुरुवाका लागि प्रतिक्षालय निर्माण गरिएको छ।
अस्पतालमा भर्ना भएका बिरामीका आफन्त बिरामीको अवस्था बुझन जाँदा सुरक्षित रुपमा बस्ने स्थान नहुँदा भएको समस्यालाई देखेर प्रतिक्षालय निर्माण गरी अस्पताललाई हस्तान्तरण समेत गरिएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अस्पतालमा बिरामी कुरुवा प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेको हो। नेकपाको जिल्ला समिति र युवा संगठनको सक्रियतामा १ लाख ३० हजार रुपैयाँ खर्च गरेर चार दिनमा प्रतिक्षालय निर्माण पुरा गरेर अस्पताललाई हस्तान्तरण गरिएको युवा संगठनका केन्द्रीय सदस्य तिलक योगीले बताए।
उनले जनश्रमदान र विभिन्न व्यक्तिको सहयोगमा प्रतिक्षालय निर्माण सम्पन्न भएको जानकारी दिए। उनले अस्पतालसंगको छलफलमा आवश्यकताको महसुस गरेर प्रतिक्षालय निर्माण गरिएको उल्लेख गरे।
नेकपा दाङले निर्माण गरेको कोभिड बिरामी कुरुवा प्रतिक्षालय प्रभावकारी र अहिलेको आवश्यकता पुरा भएको अस्पताल व्यवस्थापन दोर्ण वलीले बताए। उनले छोटो समयमा अस्पतालमा प्रतिक्षालय निर्माण गरिनुले देश भरी सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले अस्पतालको आबश्यकता नेकपाले पुरा गरिदिएकोमा धन्यवाद समेत दिए।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालमा प्रतिक्षालय निर्माण गरिनुले सकारात्मक तथा अनुकरणीय र उदाहरणीय काम भएको बताए। उनले निर्माणका लागि अस्पतालको तर्फबाट धन्यवाद समेत दिए।
नेकपा केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज बलबहादुर वली ‘सितल’ले अहिलेको अवस्थामा अस्पताललको आवश्यकता सानो र थोरै भए पनि पुरा गरेको बताए।