राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन

–शंखर पहाडी सर्लाही, २३ जेठ : कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ । अहिले हरेकजसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । ती सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् ।
जिल्लाको बाँके, फुलजोर, कालीन्जोर र लखन्देही नदीमा स्थानीय निकायले ठेक्का लगाएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन( आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भए पनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । रातदिन धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा करीब दुई सय वटा टिप्परको लाइन दिनहुँ नै देखिने गरेको छ ।
स्थानीय निकायहरुले नदी ठेक्का दिँदा मेसिनको प्रयोग नगर्ने र मानिसले मात्रै नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो तर अहिले विपद्को बहाना बनाएर मेसिन प्रयोग गर्न थालिएको छ । पूर्व पश्चिम लोकमार्गअन्तर्गत सर्लाही र महोत्तरीको सिमानामा रहेको पुलको दक्षिणतर्फ एस्काभेटरले तटबन्धसमेत भत्काएर नदी उत्खनन गरेको छ ।
जसका कारण पूर्व पश्चिम लोकमार्ग र पुलसमेत धरापमा पर्नाको साथै श्रीनगर क्षेत्रका बस्तीमा नदी पस्ने जोखिम बढेको स्थानीयवासी हरि चौधरीले बताउनुभयो । “हामीले उत्खनन भइरहेको ठाउँमा पुगेर रोक्ने प्रयास ग¥यौँ तर हाम्रो सुनुवाइ भएन”, उहाँले भन्नुुभयो, “नदी किनारमा बनाइएको तटबन्धसमेत भत्काइएको छ । जथाभावी मेसिन लगाइरहेका छन् ।” जिल्लाका सबै नदीमा यसैगरी उत्खनन भइरहेको चौधरीले बताउनुभयो ।
अवैध उत्खननले सिँचाइ कुलोहरूसमेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको अर्का स्थानीयवासी कपिल चौधरीले बताउनुभयो । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षायाममा नदी गाउँमा पस्ने जोखिम बढेको उहाँको भनाइ छ ।
बर्सातको समय आइसकेका कारण मेसिन प्रयोग गरेर राति पनि नदीजन्य पदार्थ उत्खननको काम गर्न थालिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो । “हामीले पहिले नै ठेक्का लगाइसकेका छौँ, पछि विपद् नहोस् भनेरै परिमाण पुगेपछि नदी उत्खननको काम रोक्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको भए पनि ठेकेदार कम्पनीले अटेर गरी नदी दोहन गरिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले महामारीको बहाना बनाउँदै ठेकेदारले लापरबाहीपूर्ण तरिकाबाट नदी दोहन गरेको र पटकपटक रोक्न आग्रह गर्दासमेत अटेर गरेको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निर्माण कार्यमा प्रयोग भएका सवारी साधनहरुलाई नरोक्ने बताएपछि निर्माण सामग्री बोक्ने तथा नदीजन्य पदार्थ बोक्ने सवारी साधनहरुको मनोमानीसमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ । यी सबै खोलामा अत्यधिक दोहन भएको छ । डिभिजन वन कार्यालय सर्लाहीका अनुसार जिल्लाको कूल क्षेत्रफल एक लाख २५ हजार ९४८ हेक्टरमध्ये १३ हजार ८६८ हेक्टर अर्थात् १३ दशमलव नौ प्रतिशत चुरे क्षेत्रमा पर्छ । ढुङ्गा, गिट्टी र बालुवा निकासी चुरेबाट नै भइरहेको छ । चुरेमा धेरै खहरे खोला छन् । अधिकांश विकासका काम चुरे क्षेत्र नष्ट गर्ने गरी भइरहेका छन् । चुरे क्षेत्र बचाउन निकै प्रयास गर्दा पनि सम्भव नभएको जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताउनुभयो । उहाँका अनुसार विकासका नाममा चुरे विनाश भइरहेको छ ।
स्थानीय निकायले ठेक्का लगाइसकेका स्थानमा कोरोना महामारीका कारण काम गर्ने मानिस पाउन नसकेको र बर्सातको समय नजिकिँदै गरेकाले मेसिन प्रयोग गर्ने अनुमति दिइएको अध्यक्ष चौधरीले बताउनुभयो । “स्थानीय निकायले काम गर्ने मानिस पाउन कठिन भयो, ठेक्का दिइसकेका ठाउँमा नदीजन्य पदार्थ निकाल्न ढिला भयो, अब बर्सातमा झनै समस्या हुन्छ भनेर मेसिन प्रयोगको माग गरेकाले हामीले अनुमति दिएका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यसमा स्थानीय निकायको अनुगमन र निगरानी आवश्यक हुन्छ । चोरी, निकासी हुन दिइएको छैन । नियमानुसार मात्रै निकालिएको छ । नियमानुसार काम नगर्नेलाई कारबाही प्रक्रिया पनि थालिएको उहाँले बताउनुभयो ।