चितवनमा पनि “लुजलकडाउन” सुरु।

राजकुमार, चितवन, चितवन जिल्लामा जेठ २८ गते देखि खाद्यान्न, माछा, मासु, फलफूल तथा तरकारी पसलहरु दैनिक रुपमा विहान ६ बजे देखि १० बजेसम्म खोल्न पाइने भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु न्युनतम कर्मचारी खटाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई हप्ताको पुरै दिन संचालन गर्न पाईने भएको छ । यस भन्दा अघि हप्ताको तीन दिन विहान ६ बजे देखि ९ बजेसम्म खाद्यान्न पसल खोल्न पाइन्थ्यो भने बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन संचालन हुन्थ्यो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई न्युनतम कर्मचारीको उपस्थितिमा पुस्तक पसल पनि संचालन गर्न पाईने कुरा प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेद्वारा निषेधाज्ञा जारी आदेशमा सुचित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड -१९ संक्रमण जोखिम अझै उच्च रहेकोले संक्रमणलाई नियन्त्रणमा ल्याउनको लागि निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ । प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार नागरिकको दैनिक जनजीवनमा सहजता गराउन निषेधाज्ञालाई केही लचिलो भने बनाएको बुझ्न सकिन्छ ।

चालू निषेधाज्ञाको समय जेठ २७ गते राती सकिंदै छ । जिल्लामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेकोले नियन्त्रणको लागि प्रशासन कार्यालयले पाँचौ चरणको निषेधाज्ञा जारी गरि असार तीन गते सम्म लम्ब्याइएको हो ।

प्रशासनले निषेधाज्ञालाई केही लचिलो बनाए सँगै मानिसहरुको भिडभाड र चहलपहल भने बढ्ने भएको छ । जिल्लामा कोभिड संक्रमण अझै दैनिक असी देखि सयको हाराहारीमा रहेको छ । स्वास्थ्य कार्यलय चितवनको जेठ २६ गतेको तथ्यांक अनुसार जिल्लामा ८० जना नया संक्रमित थपिएको छ ।

अत्यावश्यक कामको लागि हिड्दुल गर्न पाईने भनेता पनि केही मानिस भने बाहानाबाजि बनाएर अनावश्यक काममा हिड्दुल गर्दा वा निषेधाज्ञाको अवज्ञा गर्दा भिडभाड बढ्न जाने र संक्रमण बढ्न सक्ने जोखिम रहेको छ ।

प्रहरी प्रशासनले निषेधाज्ञा अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएको र कारबाही गरिएको भनेता पनि सडक बजारमा मानिसहरुको चहलपहल हिजोआज बाक्लिंदै गएको देख्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button