राउटे युवतीसँग मुख्यमन्त्री शाहीको भलाकुसारी : ‘प्रिफ्याब हाउस’ बनाइदिने।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीसँग भलाकुसारी गरेका छन् । शुक्रबार वीरेन्द्रनगरस्थित आफ्नै कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले स्वागतका साथ भलाकुसारी गरेका हुन् ।
कुराकानीका क्रममा मुख्यमन्त्री शाहीले राउटे समुदायमा उच्च गुणयुक्त ‘प्रिफ्याब हाउस’ बनाइदिने घोषणा गरेका छन् । मुख्यमन्त्री शाहीसँग दुई युवतीसँगै भेटघाटका लागि आएका राउटे युवतीहरुले प्रदेश सरकारले घोषणा गरेको मासिक दुई हजार भत्ता नपाएकोमा गुनासो राखेका थिए ।
मुख्यमन्त्री शाहीले भत्ता उपलब्ध गराउने बाचा गरेका छन् भने युवतीहरुले चाँडो मिलाइदिन आग्रह गरेका छन् । भेटघाटका क्रममा गाँस, बाँसका सन्दर्भमा कुरा भए पछि केही समयअघि ती दुई राउटे युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाको विषयमा भने कुरा भएन ।
भेटघाटमा थुप्रै मान्छेहरुको उपस्थितिका कारण दुई युवतीमाथि थप आँच आउने देखेर मुख्यमन्त्री शाहीले त्यस विषयमा कुराकानी नगरेको बुझिएको छ ।
कुराकानीको अन्त्यतिर मुख्यमन्त्री शाहीले राउटे नीति अघि बढाउन, राउटे बस्तीमा खाद्यान्नलगायतको बन्दोबस्त गर्न सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीको टोलीलाई निर्देशन दिएका छन्।
केही दिन अघि होटेलमा लगेर दुई राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको थियो । पीडकहरुमाथि कारबाही गरिसकिएको छ भने पिडित युवतीहरुको शुक्रबार दिउँसो स्वास्थ्य जाँच पनि भएको छ । स्वास्थ्य परिक्षणपश्चात् रिपोर्ट आउन बाँकी रहेको छ ।