झलनाथ खनालले अस्पतालको बेडबाटै “तपाईंले पार्टी मिलाउनुस् कमरेड’’।

नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बुधबार भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
उनका अनुसार शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भनेका थिए।
पछिल्लो समय पुनः नेकपा एमालेका दोस्रो तहका नेता पनि आन्तरिक छलफलमा जुटेका छन्। संस्थापन पक्ष र माधव नेपाल पक्ष नेता आ–आफ्नै समूहभित्र आन्तरिक छलफलमा जुटेका छन्। बालुवाटारमा महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, विष्णु पौडेल र प्रवक्ता प्रदीप ज्ञवालीबीच आन्तरिक छलफल भएको छ भने मध्यमार्गी नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्यबीच पनि आन्तरिक छलफल भएको छ।
आन्तरिक छलफलमा सहमति कायम गरेर दुवै पक्षलाई एक ठाउँमा ल्याउने उनीहरूको प्रत्यन्त जारी छ। पार्टीको छिट्टै स्थायी समितिको बैठक बोलाएर सामूहिक छलफल गर्ने पनि निर्णय भएको छ।
खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए। नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै खनाललाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए। खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ।