बाढीले बगाए सिमा स्तम्भ।

दक्षिणवर्ती नेपाल–भारत सिमानास्थित नदी तटीय क्षेत्रका दसगजामा गाडिएका सीमा स्तम्भहरू बाढीको जोखिममा छन्। बबई, कर्णाली तथा यिनका सहायक नदीहरूमा पानीको बहाव बढेसँगै निम्तिने बाढी र कटानका कारण सीमा स्तम्भ बग्ने र फेला नपर्ने गरेका छन्।

बर्दियाको ८३ किलोमिटर खुला सिमानामा मुख्य, सहायक र साना गरी २ सय ४५ वटा सीमा स्तम्भ गाडिएका छन्। नेपाल–भारत सिमानामा ४२ वटा मुख्य, ६८ वटा सहायक र १ सय ३५ वटा साना स्तम्भहरू हुन्। बर्दियाको सिमानामा मुख्य ६ वटा सहायक ८ वटा र साना २७ वटा गरी ४१ वटा स्तम्भहरू रहेको सशस्त्र प्रहरी बल नम्बर ३१ गण हेडक्वार्टर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए।

सीमा क्षेत्रमा मुख्य सीमा स्तम्भहरू २६ वटा मर्मत गर्नुपर्ने, ५ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। मुख्य ५ वटा सीमा स्तम्भ फेला परेका छैनन्। रावतका अनुसार सहायक सीमा स्तम्भहरूमध्ये ३६ वटा मर्मत गर्नुपर्ने, ८ वटा पुनर्निर्माण गर्नु पर्नेछन्। ७ वटा खोलाले बगाएको र ९ वटा फेला नपरेको अवस्थामा छन्। साना स्तम्भहरू पनि २ वटा मर्मत गर्नुपर्ने २३ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ। सानामध्ये २४ वटा खोलाले बगाएको र ५८ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन्।

बर्दियामा सहायक ७, सानो २५ गरी ३२ वटा सीमा स्तम्भ खोला नदीले बगाएका छन्। मुख्य ५, सहायक ९ र साना ५८ गरी ७२ वटा सीमा स्तम्भ हराएका छन् र फेला परेका छैनन्। बबई र कर्णाली नदीका कारण सीमा स्तम्भहरू कटान र बाढीको जोखिममा परी हराउने गरेको भन्दै रावलले थपे, ‘कार्यालय स्थापनापछि रेकर्ड राख्न थालेपछि स्तम्भहरू हराएका छैनन्। जंगली हात्तीले समेत सीमा स्तम्भ भत्काएका छन्। स्तम्भको सुरक्षार्थ गस्तीलाई तीव्रता दिएका छौं।’

सशस्त्र प्रहरी उपरीक्षकलगायत बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बोहराको कमान्डमा रहेको गस्तीले केही महिनाअघि गुलरिया नगरपालिका–१० मस्जिदिया घाटस्थित बबई नदीको पूर्वी किनारमा ६७१÷१ नम्बरको सानो सीमा स्तम्भ फेला पारेको छ। उत्तर प्रदेश भारतको बहराइच जिल्ला लौकाही ग्राम पञ्चायतसँग स्तम्भ फेला परेको सीमा जोडिएको छ। स्तम्भको जीआर एन २८ डी १० एम ४९ सेक, ई ८१ डी २३ एम ११ सेक रहेको प्रमुख रावतले जानकारी दिए।

स्तम्भ फेला पारेपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा जानकारी दिई सहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्ज र नापी कार्यालय बर्दियामा बोधार्थ दिइएको छ। सानो स्तम्भ बबइभादा नदी ढिकको खोंचमा बालुवाले ढाकेको अवस्थामा भेटिएपछि सरसफाइ गरेर राखिएको छ। हराएका पिलरको खोजी भइराखेको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button