काठमाण्डाै – ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले सूचना निकालेर हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हातहतियार  तथा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अरु व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको छ ।

माओवादीबाट विद्रोह गर्दै सशस्त्र द्वन्द्वमा फर्किएको चन्द समूहले यसअघि विभिन्न ठाउँमा आक्रमण गरेपछि समूहका नेताहरुविरुद्ध उजुरी परेको थियो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याए पनि उनीहरू विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन । अदालतले बेलबेला उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा माओवादी महासचिव चन्दसहितका केही नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

३५ दिनभित्र अदालत उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता‚ २०७४ को दफा ३५ बमोजिम कारबाही हुने अदालतले जारी गरेको पुर्जीमा बताइएको छ ।

पक्राउ पर्नेमा महासचिव चन्द‚ खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here