महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा गत बिहीबार ऋषि पञ्चमीको दिन दलित समुदायका व्रतालु महिलाहरूको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ऋषि पञ्चमीका दिन भुजेल घाटमा थर थाहा पाएपछि भीमदत्त नगरपालिका १० का पुजारी सहदेव भट्टले भगवान्ले जात छुटाएको भन्दै पूजापाठ गर्न अस्वीकार गरेका थिए । त्यस विरुद्ध पीडित भीमदत्त नगरपालिका ५ वन गाउँकी सज्नु नेपाली सहित महिलाले प्रहरी उपरीक्षक चौधरीलाई घट्नाबारे जानकारी दिएका थिए ।

उनीहरू प्रहरी कार्यालयमा पुजारी विरुद्ध किटानी जाहेरी लिएर गएका थिए भने बिहीबार सार्वजनिक बिदाको दिन भएपछि उनीहरूको जाहेरी दर्ता गरिएको थिएन । पञ्चमीको दिन भुजेला घाटमा महिला र पुजारीबिच भएको कुराकानीको भिडियो बाहिर आएको थियो त्यसमा पुजारी भट्टले भगवान्ले नै जात छुट्टाएकाले आफूले पूजा  नगर्ने स्पष्ट पारेका छन् ।

पीडित नेपालीका अनुसार पूजापाठका लागि पुजारी भट्टसित गएका उनीहरूलाई सुरुमा गोत्र सोध्ने क्रममा थर बाहिर आएपछि उनले पूजापाठ नगर्ने बताएका थिए । त्यसपछि पुजारी र महिलाहरूबिच विवाद भएको थियो । विवादमा क्रममा महिलाहरू प्रहरी बोलाउन गएपछि उनी पूजा स्थल छाडेर भागेका थिए । घटना पछि कारबाहीको माग गर्दै पीडित र अधिकारकर्मी प्रहरी कार्यालय पुगेका थिए ।

गत आइतबार दुवै पक्ष बिच प्रहरी कार्यालय मै छलफल पश्चात् पीडित पक्षले सार्वजनिक रूपमा आफूहरू माथि भएको जातीय विभेद र अपमान सामान्य नभएको र यो सिङ्गाे समुदाय माथि कै प्रश्न भएको हुँदा आफूहरू कानुनी रूपमा नै जाने भने पछि प्रहरीले पण्डितलाई नियन्त्रणमा लिएको थियो । जाहेरी दर्ता गरी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तर कति दिन म्याद थपियो भन्न नमिल्ने प्रहरी उपरीक्षकले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here