नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले माओवादी नेतालाई जनताले जिताउने तर साम्राज्यवादी शक्तिले चुनावमा हराउन चाहेको बताउनुभएको छ । शनिवार पार्टीनिकट शिक्षक संगठनको प्रदेश भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष महराले उक्त कुरा बताउनुभएको हो ।
अझै पनि केही तत्वहरु चुनाब हुन नदिने पक्षमा रहेको बताउँदै उपाध्यक्ष महराले त्यस्ता तत्वहरुको चाहना कुनै पनि हालतमा साकार हुन नदिइने उल्लेख गर्नुभयो । उपाध्यक्ष महराले नेता र जनताबीच सम्बन्ध टुट्दै गएका कारण पार्टी कमजोर भएको बताउँदै सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनतासँग जोडिन आग्रह गर्नुभयो ।
एमसीसीको विपक्षमा रहेको कारण आफूलाई सभामुखबाट हटाउन अनेक खेल खेलिएको स्मरण गर्दै उपाध्यक्ष महराले आफूले जनताको हितबाहेक कुनै पनि कुरा सोच्न नसक्ने स्पष्ट पार्नुभयो ।
माओवादीहरु नेता वर्षमान पुन, जयपुरी घर्ती, उपराष्ट्रपति नन्दकिशोर पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेत्रबिक्रम चन्दलाई आफूले पढाएको स्मरण गर्दै उपाध्यक्ष महराले विद्यार्थीहरुलाई किताबको कुरा मात्र नभई राजनीतिक, सामाजिक र संस्कारका कुरा पढाउन पाने आग्रह गर्नुभएको थियो ।





