भदौ १५ मा काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरमा दुईजना किशोर–किशोरी फटाफट ६ ताल माथि गए । घर वरपर बसेकाहरुले उनीहरु सिँढी चढेको देखेका थिए । तर, किन सिँढी उक्लिए भन्नेतिर सोचेनन् । केहिबेर पछि दुवैजना अँगालोमा बेरिएर हाम्फाले ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन् । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्– ‘हार्ड टु बि लिभिङ के, मैले वास्तवमै बाँच्ने उत्प्रेरणा गुमाएको छु । र, आफैंलाई मार्ने उत्प्रेरणा पाएँ ।’
‘किशोर र किशोरी किन हाम्फाल्न बाध्य भए भन्नेबारे कारण खोजिरहेका छौं’ घटनाबारे अनुसन्धान गरिरहेको एकजना प्रहरी अधिकृत भन्छन्–‘कारण पत्ता लगाउन सकेमा भोलि यस्ता घटना न्युनीकरण गर्न सहयोग पुग्छ ।’ डायरीमा लेखिएको मितिअनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए । उनले ‘डियर डायरी’ सम्बोधन गरेका छन् । नोटको अन्तिममा उनले लेखेका छन्–‘योर्स अनिकेत ।’ नोट घटनास्थलमा (घरको ६ तलामा) भेटिएको थियो । सुसाइड नोटबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।





