धरान उपमहानगरपालिकामा आज बुधवार बसेको बैठकले धरानमा साबुन र बेसार फ्याक्ट्री खोलिने निर्णय सहित १८ वटा विभिन्न एजेन्डामा छलफल र निर्णय भएको उपमेयर अइन्द्र विक्रम वेघाले बताए ।
भाद्र २३ गते मेयर हर्क साम्पाङको अध्यक्षतामा बसेको आर्थिक वर्ष २०७९/८० को तेस्रो बैठक अन्य बैठक भन्दा मर्यादित र अनुशासित भएको प्रत्यक्ष प्रसारण निहाल्ने दर्शकहरूको टिप्पणी रहेको थियो। कार्यपालिकामा समेत बैठक लामो पनि र सभ्य पनि भएको समीक्षा भएको थियो।
एकान्त वातावरण र उद्योगधन्दा बस्तीमा खोल्नु उचित नभएकाले गर्दा धरान २० मा साबुन फ्याक्ट्री खोल्ने मेयरले उद्घोष गरेका छन्। मेयर हर्कले बैठकमा भने ‘ अन्य वडामा सबै थोक छ। भानु चोकमा नै सबै कुरा राख्नु पर्छ!
यस्ता छन् आज पारित भएका एजेन्डा
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसोवासीको बस्तीको तहगत क्षेत्र निर्धारण, १३ नं. वडा राई टोलका ३० परिवार भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासोकी नामावली स्वीकृत गर्ने र उक्त नामावली राष्ट्रिय भूमि आयोग, जिल्ला समिति सुनसरीमा पठाउने निर्णय भएको छ ।
यस्तै ,नगरभित्रका सम्पूर्ण सडक तथा बाटो निर्माण तथा नियमित मर्मत सम्भारका लागि आवश्यक साधन, श्रोत, उपकरण सहितको संयन्त्र खडा गर्ने निर्णय मेयर हर्कले बैठकमा सुनाएका थिए । मिडियाबाट प्रत्यक्ष लाइभ गरिएको बैठकमा नगर परिषद्ले एकमुष्ट विनियोजन गरेको एजेन्डामा रहेको एक करोड नब्बे लाखको एक वडा एक पूर्वाधार कार्यक्रम कार्यान्वयन सम्बन्धमा बैठकमा लामै बहस भयो ।
समानुपातिकता बाँडफाँट गर्ने वा बजेट तर्जुमा गर्दाका वखत गरिएको राजनीतिक सहमति बमोजिम पहुँचवाला र बोलवाला वडाध्यक्षहरूको वडामा बढी र अन्यत्र कम रकमका योजना दिने भन्ने वहसमा एमालेका तर्फबाट मत राख्ने नरेश इवारामले नै बाजी मारेका छन् ।
यो निर्णय अनुसार वडा नं. १५ ले सबैभन्दा बढी १७ लाख र वडा नं २० ले ८ लाख बरावरका भौतिक पूर्वाधार तर्फका योजनाहरू कार्यान्वयन गर्नेछन् । वडा नं. २० देवी गाउँ सर्दु खोला पारिको क्षेत्रलाई औद्योगिक ग्रामको रूपमा घोषणा गरिएको छ । जमिनलाई कृषि क्षेत्र र गैह्र कृषि क्षेत्र घोषणा गर्ने सम्बन्धमा वडाहरूले १५ दिनको सूचना प्रकाशन गरी जग्गाधनीहरूको निवेदन लिएर कित्ता नम्बर अनुसार सिफारिस गर्ने निर्णय पारित भएको छ । विद्युतीय नक्सा पास प्रणाली सफल रूपमा कार्यान्वयन भएको विषयलाई समीक्षा गरिएको छ ।
फुटपाथ व्यवस्थापन गरी ठेला तथा अन्य अवरोध हटाउने, कवाडी व्यवसायहरू तोकिएका स्थानमा मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ । होटेल रेस्टुरेन्ट सम्बन्धी मापदण्ड थप छलफल गरी आगामी बैठकमा पेस गर्न एक कार्यदल गठन गरिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए। अन्य निर्णयमा वडा नं ४ मा स्वास्थ्य सामाग्री ढुवानीको लागि वडा कार्यालयले भाडदर तोकिदिने, ६० जना प्रशिक्षर्थीका लागि विभिन्न ३ समूहमा बाँडेर १० महिना सञ्चालन हुने प्राविधिक तालिमका लागि विषयवस्तु छनौट गर्ने बाटोको नाम कायम गर्ने,
खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयबाट भइरहेको आयोजनाहरूको अध्ययनको जानकारीहरू रहेका छन् । कान्जी हाउस ( पशुचौपाया)निर्माण गर्ने सम्बन्धमा भने कुनै निर्णय हुन नसकेको कुरा प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालले बताएका छन् । दिउसो २.३० मा सुरु भएको बैठक साँझ ६.३० सम्म चलेको थियो । धेरै मिडियाले लाइभ गरेको यो बैठक विगतका तुलनामा सहज र सौहार्दपूर्ण रहेको कुरा वडाध्यक्षहरूले बताएका छन् ।





