नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। मोबाइल सेटको गैरकानुनी बिक्री–वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार सो प्रणालीको सुरुवात गरे।

 

प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ। प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np)मा दर्ता भए–नभएको यकिन गरी मात्र खरिद गर्न अनुरोध गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रोजेक्ट अघि बढाएको चार बर्षपछि नेपालमा मोबाइल बजारलाई नियामन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) कार्यान्वयनमा आएको छ । २०७६ सालमा झन्डै एक अर्ब लागतसहित अवैध मोबाइल रोक्न विकास भएको यो प्रणाली प्राधिकरणले लागु गरेको हो ।

 

चार बर्ष अघि प्राधिकरणले मलेसियन कम्पनीलाई एक बर्षभित्र एमडिएमएस विकास गरी लागु गर्न जिम्मा दिएको थियो । तर, प्राधिकरण र मलेसियाको न्युमेरा,भारतको ओएसआई डिजिटल तथा सिंगापुरको नमस्ते ग्लोबल (जेभी)को लापरवाहीको कारण प्रोजेक्ट नै पछि धकेलिएको थियो ।

यो प्रणाली कार्यान्वयनमा आएपछि अवैध मोबाइल आयातमा रोक लाग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहिबार एक कार्यक्रम गर्दै नेपालमा एमडिएमएस लागु भएको घोषणा गरेको छ ।

 

नेपाल दुरुसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएस लागु भएसँगै नेपालको अनियन्त्रित मोबाइल बजारलाई नियमन गर्ने एउटा प्रणाली विकास भएको र यसले राज्यलाई फाइदा हुने बताए ।

‘यो प्रणाली कार्यान्वयनमा आएपछि मोबाइलको सम्पूर्ण कारोबार बैधानिक बाटोबाट हुने छ’ खनालले भने ‘अब अबैध मोबाइल भित्रिएपनि यो प्रणालीले चल्न दिने छैन’ ।

 

अहिले सफ्ट सिस्टमको मात्रै सार्वजनिक भएको कारण फुलफ्लेजमा आगामी असोजसम्म एमडिएमएस लागु हुने अध्यक्ष खनालले दाबी गरे ।

अब विदेशी नाका र विमानस्थल हुँदै भित्रने मोबाइल दर्ता गरेर मात्रै चलाउने पाइने छ । यदि आइएमईआई नम्बर नेपालको यो प्रणालीमा लागु नभए  कुनैपनि मोबाइल नेटवर्क तथा टेलिकमको सेवा लिन पाइने छैन ।

 

प्राधिकरणले विदेशबाट आएका मोबाइललाई दर्ता गर्न दुई हप्ताको समय उपलब्ध गराउने भएको छ ।
विदेशीको हकमा पनि १५ दिनको समय दिने र त्यसपछि भिसाको समय हेरेर पर्यटकको मोबाइल चल्न दिने तयारी छ ।

अहिलेसम्म अर्थात भदौ ३० अगाडि भित्रिएका मोबाइल भने बन्द हुने छैनन् । कार्यक्रममा मोबाइल वितरक संघका अध्यक्ष दिपक मल्होत्राले एमडिएमएस लागु भएसँगै नेपालमा अवैध मोबाइल आयात रोकिने बताए ।

 

‘२०२१ मा ३८ अर्बको मोबाइल आयात भएको र १७ अर्ब बराबरको अबैध मोबाइल आयात भएको थियो’ मल्होत्राले भने ‘अबैध मोबाइल आयातले २५ प्रतिशत राजश्व गुमाउदै गएको छ’ । उनले दीर्घकालीन समस्यालाई नहेरी मोबाइल आयातलाई पनि प्रतिबन्ध लगाएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here