भूमि व्यवस्था मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक सहसचिव जनकराज जोशी भन्छन्, ‘हामीले अध्ययन गर्दा के पायौं भने त्यो त नक्सामै छैन । नक्सामा छैन भने जमिनमा कसरी देखाइदिन सक्छौं ? त्यसैले नक्सामा नभएको चिज हामीले जमिनमा देखाउन सक्दैनौं ।’
जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने काठमाडौं महानगरपालिकाको अभियानमा धक्का लागेको छ ।खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै महानगरले ३० भदौदेखि जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । त्यसक्रममा केही निजी भवनको संरचना समेत फोडिएको छ । यसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि काठमाडौं महानगरपालिकाले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो ।
विभागले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र खेलेपछि सहसचिव जनकराज जोशीको नेतृत्वमा कार्यदल नै बनेको थियो । कार्यदलले २१ गते मन्त्रालयमा बुझाएको प्रतिवेदनमा २०३२ सालमा तयार भएको नक्सामा नै जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नभएको उल्लेख छ । ‘जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला फिल्डमा कहाँनिर छ, हामीलाई देखाइदेऊ भन्नुभएको थियो’, सहसचिव जोशीले अनलाइनखबरसँग भने,’हामीले अध्ययन गर्दा के पायौं भने त्यो त नक्सामै छैन । नक्सामा छैन भने जमिनमा कसरी देखाइदिन सक्छौं ? त्यसैले नक्सामा नभएको चिज हामीले जमिनमा देखाउन सक्दैनौं ।’
उनका अनुसार नक्सामा भएको वस्तु (नदी, घर, जग्गा आदि) जमिनमा कहाँनिर पर्छ भनेर देखाउने काम रेखांकन हो । तर जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला नक्सामा नभएको रेखांकन गर्न नसकिने मन्त्रालयको निष्कर्ष छ ।
जोशीका अनुसार अध्ययनका क्रममा फिल्डमा गएर हेर्दा जयनेपाल हलको पारिपट्टी नारायाणहिटी दरबारको पर्खालको १८/२० फिट मुनिबाट टुकुचा गएको छ र कमलादी मोडमा पनि २०/२५ फिट तल निस्किएको छ ।‘फिल्डमा जति जमिनको सतहमा देखिँदैन, नक्सामा पनि त्यस्तै छ,’ जोशीले अगाडि भनेका छन्, ‘नक्सामा नभएको खोला कहाँतिर पर्छ भनेर हामीले चिनो लगाइदिन सक्ने भएनौं ।’
मन्त्रालयले नक्सामा नभएकाले देखाउन नसक्ने भनेपछि काठमाडौं महानगरले पहिला नक्सामा देखाइदिन आग्रह गरेको थियो । तर जग्गा नापजाँच ऐनअनुसार जमिनको सतहमा जे छ, त्यसलाई मात्र नक्सामा रुपान्तरण गर्न मिल्छ । सहसचिव जोशी भन्छन्, ‘त्यो ठाउँमा २०३२ सालमा पहिलो नक्सा बनेको छ । त्यसअघि कुनै नापजाँच भएको छैन । उहाँहरुले पुन नापी गरेर नक्सामा कोरिदिनुस् भन्दा त नक्सामा त मान्छेको कित्ता छ, त्यो कित्ताको नक्सा छ, फिल्डबुक छ, पूर्जा तयार छ, व्यक्तिको नाममा घर बनेको छ । त्यहाँ हामीले खोलो देखाउन त मिल्दैन ।’
‘किनभने कित्तानापी भनेकै जमिनको सतहको नापी हो । त्यसैले हामीले अहिलेको कानुन र फिल्डको परिस्थितिअनुसार नक्सा कोर्न पनि सक्दैनौं भनेका छौं’, उनले अगाडि भने ।





