गत वर्ष भदौ ३ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्रीको तस्वीर निकै भाइरल बन्यो । झन्डै पचास वर्ष आफैंले संघर्ष गरेर हुर्काएको पार्टी एमाले छोडेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका नेपाललाई नेतृ झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोर्याउँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।
त्यस अगाडि २०७७ माघ १६ गते गोरखाको सिरान चोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा बोल्दा २९ गते प्रहरीले उनकै निवासबाट पक्राउ गर्यो । सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोड्यो । त्यसयता उनी नेकपा एमालेविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएकी छन् ।
उनीहरूकै ढाडसले नेकपा एकीकृत समाजवादी पार्टी तयार भयो । उनी सचिव भइन् । पार्टीको तर्फबाट मन्त्रीसमेत बनिन् । नेपाललाई एक वर्ष पहिले हात समातेर आयोग पु¥यााएकी झाँक्री अहिले नेपालसँग रुष्ट भएका खबरहरू बाहिर आइरहेका छन् ।
मंगलबारमात्रै एमाले सचिव योगेश भट्टराईको जन्मदिनको अवसरमा झाँक्रीले लेखेको स्टाटसलाई पनि अर्थपूर्ण रूपले हेरिएको छ । ‘आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने वेला अभाव महसुस हुने रहेछ दाइ’ उनले लेखेकी थिइन् ।
गुल्मीको एक कार्यक्रममा एमाले सम्झेर रोएको प्रसङ्ग, एमाले सचिव भट्टराईलाई जन्मदिनमा लेखेको विषय र माधव नेपालसँग सम्बन्ध बिग्रेको हल्ला यी कुराले तपाईं एमाले प्रवेश गर्न खोज्नु भएको चर्चा छ नि !
व्यक्तिगत रुपमा मैले कुनै केही निर्णय गर्ने कुरा छैन । भोलि जे हुन्छ पार्टीबाटै टीममा हुन्छ । माधव कमरेडलगायत देशभरि जो हामी विद्रोहमा थियौं।
उहाँहरूको भावनाभन्दा बाहिर गएर व्यक्तिगत रुपमा कुनै निर्णय लिने न सम्भावना छ न त लिने कुरा राम्रो हो । भोलि पार्टी एकता भयो भने त्यो अर्कै कुरा हो । व्यक्तिगत रुपमा मैले कुनै निर्णय लिँदै गरेको छैन, लिने सोचेको पनि छैन र लिँदा पनि लिन्न ।
– गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित भएको कुरा आएको थियो । कञ्चनपुरमा पूर्वमन्त्रीहरु नै एमाले फर्किए । तपाईंहरूलाई त आफ्नै नेता-कार्यकर्ता जोगाउन नै ठूलो सकस भइरहेको छ नि हैन ?
जिल्लाबाट कही पार्टी एकता घोषणा हुन्छ ? दुनियाँमा कही भएको छ ? यो केन्द्रीय रणनीति हो र पार्टी एकता गर्न चाहनुहुन्छ भने संवाद गर्नुहोस् न त । उपमहासचिव, सचिव हुनुहुन्छ ल संवाद गर्नुहोस् । म पनि सचिव छु । चुनाव अगाडि वा पछाडि संवाद गरौं भन्ने हिम्मत छ त ? त्यो चाहिँ छैन । अनि निर्वाचनमा कार्यकर्ता वा जनतालाई यसो भ्रमित गर्न उहाँहरूले पार्टी एकताको यो तहसम्मको नाटक मञ्चन नगरेको भए पनि हुने थियो ।





