विराटनगर : प्रदेश १ को स्वास्थ्य मन्त्रालयबाट आइतबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाइएको हो। स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन्। राष्ट्रपति र प्रधानमन्त्रीका ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको फोटो राखिएको छ।
मन्त्री यादवले प्रादेशिक सरकार तथा त्यसअन्तर्गतको मन्त्रालय भएकाले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिरहन आवश्यक नभएको प्रतिक्रिया दिए।
‘प्रदेशको मन्त्रालय भएकाले प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राखिएको छ,’ उनले भने, ‘संघीयता बलियो बनाउनुपर्छ भन्ने भएपछि यहीँको संरचनालाई प्राथमिकता दिइएको हो।’
संघीयता बलियो बनाउन परिवर्तनका लागि आफैँबाट सुरुवात गरेको यादवको भनाइ छ। उनले आफू बस्ने कुर्सीको दायाँतिर प्रदेश प्रमुख र बायाँतिर मुख्यमन्त्रीको तस्बिर राखेका छन्। कुर्सी पछाडि भने सगरमाथाको ठूलो तस्बिर छ।
उनको दायाँपट्टि नै नेपालको राष्ट्रिय झण्डा पनि राखिएको छ। संघीय मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने चलन भए पनि प्रदेशका मन्त्रालयहरूमा यतैका मुख्य पदाधिकारीको तस्बिर राख्न उपयुक्त हुने मन्त्री यादवले बताए।
‘राष्ट्रप्रमुख राष्ट्रपति हुने अनि सरकार प्रमुख प्रधानमन्त्री हुने भएकाले संघीय मन्त्रालयहरूमा उनीहरूको तस्बिर राख्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘प्रदेशको प्रमुख प्रदेश प्रमुख र सरकार प्रमुख मुख्यमन्त्री हुन्।’ प्रदेशको मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्दा नसुहाउने उनको तर्क छ।
यादवले राजनीतिक दलहरूले पनि संघीयतालाई बलियो बनाउने कुरामा गम्भीरतापूर्वक काम गर्न नसकेको आरोप लगाए। राजनीतिक दलका केन्द्रीय समितिले प्रदेशलाई बेवास्ता गर्ने गरेको मन्त्री यादवको भनाइ छ। प्रदेश सरकार बलियो हुनुपर्छ भन्ने, तर व्यवहार लागू नगर्ने पारिपाटी हाबी भएको उनले बताए।
मन्त्री यादव जनता समाजवादी पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनीतिक समितिका सदस्य हुन्। उनी २०७४ सालको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशका अरू मन्त्रालयहरूमा भने राष्ट्रपति र प्रधानमन्त्रीकै तस्बिर राखिएको छ। संघीय मन्त्रिपरिषद् अन्तर्गतका मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने चलन छ।
त्यसअघि राजाको शासनमा मन्त्रालयहरूमा राजा र रानीको तस्बिर राख्ने गरिन्थ्यो।





