सल्यानमा भएको दुर्घटनामा गाडीमा सवार सवैको मृत्यु भएको छ ।
यस अघि ८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेर घाइते हुनुभएका तिलक वलीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । घाइते वलीले जिल्ला प्रहरी कार्यालय सल्यानकाे हटलाइन १०० मा फोन गरेर ८ जनाकाे ज्यानजानेगरी भएकाे जीप दुर्घटनाको जानकारी गराएपछि प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका थिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । वलीको आज बेलुकी ५ बजे मृत्यु भएको सल्यान प्रहरीले बताएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती र मुलपानीको बिचमा पर्ने घुम्तिमा जीप दुर्घटनामा परेर कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्रीको मृत्यु भएको थियो । बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो ।





