मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छन्। ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरेकी छैनन्।
“म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु”, उनले भनिन्।
यहाँको ‘वर्किङ कल्चर’ले उनलाई समस्या पार्ने रहेछ । उनी भन्छिन्, “हामीकहाँ अझै व्यावसायिकता कम छ ।
काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ ।” काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उनको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किएकी थिइन्।
यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गरिन्। “म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ”, अभिनेत्री बुढाथोकीले भनिन्।





