काठमाडौ-सन्दिप लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना हथकडी लैजान अनुरोध गरे ।
‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आत्मसमर्पण गर्नेछु ।’ उनले आफूविरुद्ध लागेको अभियोगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरे ।
नेपाली क्रिकेटरले हरेक अन्तर्राष्ट्रिय सफलतापछि स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा सयौँ समर्थक बाजागाजासहित एयरपोर्ट पुग्ने गर्थे। खादा र मालाको सामानसहित स्वदेश फर्किँदाको गौरवपूर्ण अनुभव पछिल्लो समय सन्दीपले जति कसैले पनि भोगेका छैन।
तीनै सन्दीप प्रहरीमा परेको किशोरी बलत्कार उजुरीपछि बिहीबार विमानस्थल उत्रिदा भने फरक अवस्थाबाट गुज्रिए। उनको डी थियो। उनले प्रहरीलाई हतकडी नलाउन आग्रह गर्दै पत्र पठाए पनि प्रहरीले नियमानुसार उनलाई हतकडी त लगायो। तर उनको हतकडी रुमालले छोपियो। सेतो ट्रयाकसुटमा एयरपोर्ट झरेका सन्दीपको अनुहारमा कुनै कान्ति थिएन। उनलाई सिधै प्रहरीले नियन्त्रणमा लियो। सायद यो अनुभव भोगाईपनि सन्दीपका लागि फरक रह्यो।
आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरे । बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरे।
लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको आरोपका साथ प्रहरीमा अभियोग दर्ता गरेकी छन् । प्रहरी अधिकृतलाई लेखेको पत्रमा लामिछानेले आफू विदेशमा रहँदा नै यौन अपराधको आरोप लागेको र त्यसबारे विस्तृत विवरणहरु सञ्चारमाध्यममा आएको, आफूलाई क्रिकेट एसोसिएशन अफ नेपालले निलम्बन गरेको अनि ‘मिडिया ट्रायल’ सँगै आफू घृणाको शिकार भएकोमा निराशा पनि जनाएका छन् ।
सम्भवत, नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा छोटो समयमै सर्वाधिक चर्चा कसैले पायो भने सन्दीप लामिछानेकै नाम शीर्ष स्थानमा आउँछ। खेलाडी मात्र यस्तो एउटा मानक हो जसले अन्तर्राष्ट्रिय एरेनामा पाउने हरेक सफलता देशभित्र मात्र हैन देश बाहिर पनि उतिकै चर्चा हुन्छ। अनि उसका हरेक सफलताको समानमा लाखौँ समर्थक नतमस्तक हुन्छन्।
नेपाली खेलकुद क्षेत्रमा सीमित मात्रै त्यस्ता खेलाडी छन्। जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि समर्थक कमाएका छन्। तीनै थोरै खेलाडीका सूचीमा पर्छन् २२ वर्षीय सन्दीप लामिछाने। लामिछानेले विश्व क्रिकेटमा सर्वाधिक छोटो समयमा धेरै सफलता हात पार्ने सीमित क्रिकेटरमा पर्छन्। उनले हरेक क्रिकेटरको सपनाका रुपमा रहने इन्डियन प्रिमियर लिगदेखि अन्य टेस्ट राष्ट्रका चर्चित प्रतियोगिता सम्ममा आफूलाई उभ्याउन ६ वर्षको समयनै पर्याप्त बन्यो। तर उनी जसरी शिखरमा पुगे उनीमाथि लागेको किशोरी बलात्कारको आरोपले सबै सफलता माथि अहिले पर्दा लागेको छ। देशसन्चार बाट।





