एमाले अध्यक्ष केपी शर्मा ओलीले लगातार सातौं पटक संसदीय चुनाव लड्ने भएका छन् । उनले आइतबार झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।
२०४८ सालयता लगातार चुनाव लड्दै आएका ओलीले मंसिर ४ को आगामी चुनावमा भारी मतका साथ जित हासिल गर्ने दाबी गरे । ओलीले ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट चुनाव लडेका थिए । उक्त तीन वटै निर्वाचनमा ओली निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली पराजित भए ।
त्यसबेला उक्त क्षेत्र झापा ७ थियो । उक्त निर्वाचनमा माओवादी केन्द्रका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । त्यसबेला लिङ्देनले १६ हजार ९९ मत पाएका थिए भने पराजित ओलीले १४ हजार ९ सय ५९ मत पाएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओली निर्वाचित भए । क्षेत्र नं. ७ नै रहेको उक्त निर्वाचनमा ओलीले कांग्रेसका स्थानीय नेता सुरेश सुब्बा, राप्रपाका राम थापा तथा माओवादी नेता गोपाल किरातीलाई पराजित गरेका थिए । निर्वाचन क्षेत्र हेरफेरपछि झापामा ७ बाट ५ वटा क्षेत्र निर्धारण गरिएको थियो । ०७४ को निर्वाचनमा झापा ५ बाट चुनाव लडेका ओलीले सर्वाधिक मत प्राप्त गर्दै जित हासिल गरेका थिए ।
उक्त चुनावमा वाम गठबन्धनको उम्मेदवार बनेका ओलीलाई राप्रपाको समेत सहयोग थियो । त्यसबेला ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए भने कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए ।
यस पटक पनि झापा ५ मा एमालेबाट ओली र गठबन्धनबाट कांग्रेसका खगेन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । यस पटक कांग्रेसका अधिकारीलाई माओवादी केन्द्रसहित गठबन्धनको सहयोग छ । ओलीलाई यस पटक पनि राप्रपाले सहयोग गर्ने भएको छ ।
ओलीले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्तामा प्रस्तावक एमाले केन्द्रीय सदस्य एवं दमकका पूर्वनगर प्रमुख रोमनाथ ओली र समर्थकमा दमककी पूर्वउपनगर प्रमुख गीताकुमारी अधिकारी पौडेल रहेका छन् । मनोनयन दर्तापछि ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले सर्वाधिक स्थानमा सर्वाधिक मत ल्याएर विजयी हुने दाबी गरे । दमकको गणतन्त्र चोकमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई कसैको हावादारी उक्साहटमा नलाग्न आग्रह गरे । उनले मंसिर ४ को निर्वाचन मुलुकको भावी भविष्य कोर्ने निर्वाचन भएको बताए । उनले वर्तमान राजनीतिक अन्योलता अन्त्य गर्न पनि एमालेले सर्वाधिक स्थानमा जित हासिल गर्नुपर्ने बताए ।
इलाम क्षेत्र नं. १ मा झलनाथ खनालको प्रतिस्पर्धा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुने भएको छ । खनालले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०४८ देखिका निर्वाचनमध्ये २०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग बाहेक सबैमा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा १७ हजारभन्दा बढी मतले जितेका थिए ।





