नेकपा एमालेका वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमालेको जित अपरिहार्य रहेको बताएका छन्। राजधानीमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा वरीष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सद्भाव खलबलिन नदिन राजनीतिक स्थायित्व आवश्यक पर्ने र त्यसका लागि एमालेको जित अपरिहार्य रहेको बताए।
उनले गठबन्धनको विचार, उद्देश्य र दृष्टिकोण नभएको बताए। पोखरेलले भने, ‘गठबन्धन जसको कुनै विचार, उद्देश्य दृष्टिकोण, गन्तव्य छैन। केवल एमालेलाई समाप्त गर्ने अपराधिक योजना छ गठबन्धनको।’
पोखरेलले थपे, ‘१४२ वटा नयाँ कानुन हामीले निर्माण गर्यौं। देशलाई पृथकतावादी आन्दोलनमा लैजाने र देश टुक्रयाउन खोज्ने तत्वलाई राष्ट्रिय मूलधारमा ल्यायौं।’ सरकारमा रहँदा विदेश सम्बन्धलाई सुदृढ बनाएको उनको भनाई थियो।
अब नाकाबन्दी नेपालले झेल्नु नपर्ने र यो ऐतिहासिक काम आफूहरुको पालामा भएको उनले दाबी गरे। पोखरेलले भने, ‘राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित छ। एउटा एमाले र अर्को गठबन्धनले नेतृत्व गरेको छ। एमालेले नेतृत्व गरेको यो केन्द्रले देशको नेतृत्व गर्ने छ।’





