गोरखा : बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढ वर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन्। गोरखामा शनिबार आयोजित गठबन्धन दलहरूको अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले सो आरोप सच्चिएको बताएका हुन्।
कमिशनको आरोपबारे प्रष्टिकरण दिँदै उनले त्यतिबेला अलिकति आलोचना गरेको बताए। ‘किनकि नेपाल आफैंले बनाउनु पर्ने त्यो बूढीगण्डकी कताकता कसको खेलमा हो, बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचना पाएको थिएँ। त्यसको आधारमा मैले त्यो (नौ अर्ब भ्रष्टाचारको बारेमा) बोलेकै हो। तर त्यो अहिले सच्चिएको छ। म के खुशी व्यक्त गर्न चाहन्छु भने अब बूढीगण्डकी नेपालले बनाउने निर्णय गरेको छ। त्यसै भएको हुनाले बूढीगण्डकीबारे अब हाम्रो विवाद छैन।’
अब बूढीगण्डकी छिटो बनाउने अभिभारा गोरखाबाट निर्वाचित भएपछि प्रचण्डको काँधमा जाने उनले बताए। सोही आरोपका विषयमा पछिल्ला वक्ता प्रचण्डले आरोप सच्याउन जरुरी रहेको बताएका थिए।
‘बाबुरामजीले बूढीगण्डकी परियोजनाको बारेमा जुन सूचनाका आधारमा आरोप लगाउनु भएको थियो, त्यो सच्चियो भन्नुभएको छ, धन्यवाद’, उनले भने, ‘त्यसलाई हामी आफैले बनाउने निर्णय गरेका छौँ, त्यो अगाडि बढेको छ। तपाईंले मलाई बलियो बनाउनु भयो भने त्यो तीब्रगतिमा अघि बढ्छ।’





