झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलाई एमालेले आफ्नो इज्जतका लागि पनि चुनावमा जिताउनु पर्ने बताएका छन्।

नेकपा (एमाले) र राप्रपाले शुक्रबार भद्रपुरमा संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘चुनावमा समर्थन गरेको पार्टीले जित्दैन भने एमालेको के काम? चुनावमा उठेको उम्मेदवारले चुनाव जित्दैन भने एमालेको के काम? त्यसैले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउनु पर्छ।’

 

एमाले एक थोक भन्ने अर्को थोक गर्ने पार्टी नभएको उनले बताए। अध्यक्ष ओलीले भने, ‘राप्रपाको हलोलाई कसरी भोट दिने जिज्ञासा मन नराख्नु होला हलोमा भोट दिएनन् भने देशद्रोहीहरू आउँछन्, उनीहरूलाई छेक्न कहिले काहीँ हलोमा पनि भोट हाल्नुपर्छ।’ मुख्य कुरा गठबन्धनका उम्मेदवार हराउने हो। देशप्रति माया नभएका, विकासको कुनै वास्ता नभएको गठबन्धनलाई चुनावमा पराजित गर्नुपर्ने उनको भनाइ छ।

 

मंसिर ४ गतेको चुनावपछि देशमा एमालेको बहुमतको सरकार बन्ने उनले दावी गरे। बहुमत आएपछि एमाले एक्लैको सरकार  नबन्ने र एमालेको साथमा राप्रपा र जसपा समेतको सरकार बन्ने उनको भनाइ छ।

‘त्यसपछिको सरकारमा राजेन्द्र लिङदेन गएपछि विकास खोइ भनेर तपाईँहरूले हिसाबकिताब माग्नुहोस्। ‘सरकारमै नभएको राजेन्द्र लिङदेनसँग तपाईँहरूले विकास खोइ भनेर के हिसाब किताब माग्नुहुन्छ, अहिलेसम्म निर्णय गरेको ठाउँमा उहाँ जानै पाउनु भएको छैन,’ उनले भने।

 

देशको विकास गर्न, देशको शान्ति सुव्यवस्था कायम गर्न, देशलाई समृद्धि र जनतालाई सुखी बनाउन सरकारमा जाने उनको भनाइ छ। ‘नत्र भने त्यहाँ निदाउन, झकाउनु जाने हो र सरकारमा, हामी त्यहाँ चनाखो भएर देशको रक्षा गर्न जाने हो,’ उनले भने।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here