कैलाली । हिजो (शनिबार) साँझ कैलालीको गौरीगङ्गा नगरपालिका १ चौमाला बजारमा भएको आगलागीबाट एक करोड बढीको क्षति भएको छ ।

 

चौमाला स्थित हिमाल मोबाइल ग्यालरीमा विद्युत् लाइन सर्ट भएर आगो लागेको थियो । उक्त आगलागीमा छ पसलमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्थानीय विष्णु कुमार पाण्डेको लुम्बिनी होटेलमा एक लाख पचास हजार सम्मको क्षति भएको छ । जय सिंह भण्डारीको किराना पसलमा पन्ध्र लाख सम्मको क्षति भएको छ भने पारस सापकोटाको मोबाइल ग्यालरीमा दस लाख सम्मको क्षति भएको छ ।

त्यस्तै हिमाल पुन मगरको मोबाइल ग्यालरीमा बाह्र लाख , छविलाल खनालको हार्डवेयर पसलमा पैँतालिस लाख र टङ्क प्रसाद आचार्यको सुज सेन्टरको तिस लाख सम्मको क्षति भएको छ ।

सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासीको सक्रियतामा करिब १ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here