अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको फोटो खिचेपछि धेरैले सामाजिक सञ्जालमा नेपालीले किन खिच्न सकेनन् भन्ने चर्चा गरे । तर नेपाली फोटोग्राफरले पनि हिउँ चितुवाको फोटो खिचेका छन् । दुर्लभ जनावर भएकोले जो कसैबाट नयाँ फोटो प्राप्त हुँदा चर्चा हुनु नौलो होइन ।
यसअघि थुप्रै नेपाली फोटोग्राफरले हिउँ चितुवाको फोटो खिचेका छन् । तीमध्ये एक हुनुहुन्छ बुढेसकालमा वाइल्डलाइफ फोटोग्राफर बनेका चुङ्बा शेर्पा । उहाँले दोस्रो प्रयासमा हिउँ चितुवाको फोटो खिच्नुभएको छ ।
सन् २०१९ को अप्रिलमा हिउँ चितुवाको फोटो खिच्न अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ पुग्नुभएका शेर्पा आठ दिनको प्रयासमा पनि हिउँ चितुवा नभेटेपछि रित्तै फर्कनुभयो । ५५ सय मिटर उचाइमा जाँदा पनि हिउँ चितुवा नदेखेपछि फर्किएका शेर्पाले त्यही वर्षको सेप्टेम्बर महिनामा दोस्रो प्रयास गर्नुभयो ।
दोस्रो पटक भने उहाँ होटलबाहिर बस्नको लागि टेन्ट, भरिया, गाइड, खानेकुरा सबैको बन्दोबस्तका साथ जानुभयो । ४६ सय मिटर उचाइमा क्याम्प बनाएर हिउँ चितुवा कुरेर बस्नुभएका शेर्पाले बाह्रौँ दिनमा हिउँ चितुवाको फोटो क्यामेरामा कैद गर्न सफल हुनुभयो ।
शेर्पा भन्नुहुन्छ, ‘बिहान उज्यालो भएदेखि बेलुकीसम्म पर्खँदा बल्ल १२ औँ दिनमा हिउँ चितुवाको दर्शन पाएँ, त्यो खुसी वर्णन गर्ने शब्द नै छैन ।’ शेर्पाले झन्डै सय मिटरको दुरीबाट खिचेको खिच्नुभएको हिउँ चितुवाको फोटो निकै उत्कृष्ट छ । उहाँले अर्को दुर्लभ जनावर जङ्गली याकलगायत थुप्रै जङ्गली जनावरको फोटो पनि खिच्नुभएको छ ।
हिउँ चितुवाको फोटो खिच्नका लागि यस्तै सङ्घर्ष गर्नुपर्ने भएको कारण अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले खिचेको फोटो पनि मिडियाको प्राथमिकतामा परेको हो । दुर्लभ जनावर हिउँ चितुवा हिमाली पारिस्थितिकीय पद्धतिका लागि महत्त्वपूर्ण रहेको संरक्षणकर्मीहरू बताउँछन् ।





