म्याग्दी — हिमालपारिको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा अहिले चौंरीको बथान देख्न सकिन्छ । ती चौंरी डोल्पाको उपल्लोथलो छर्काभोटबाट ल्याइएका हुन् । डोल्पाबाट १ सय ५० भन्दा बढी चौंरी चरन खोज्दै मुस्ताङ आइपुगेका होइनन् । बरु व्यवसायीले तिनलाई ५–७ दिन हिँडाएर मासुका लागि बेच्न ल्याइ पुर्याएका हुन् ।
मुस्ताङमा चौंरीको सुकुटीको माग अधिक रहेकाले तिनलाई डोल्पाबाट ल्याइएको हो । मुस्ताङमा उत्पादन हुने चौंरीले माग थेग्न नसकेपछि बर्सेनि डोल्पाबाट याक ल्याइने व्यवसायी बताउँछन् । मोटरबाटोको सहज पहुँच भएसँगै मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको भीड लाग्छ । उनीहरूले खानाको परिकारमा नयाँ स्वाद चाख्न चाहन्छन् । मुस्ताङ चौंरीको सुकुटीका लागि पनि प्रख्यात छ । यसको सुकुटी प्रतिकिलो ७ हजार रुपैयाँसम्म पर्छ । ‘मुस्ताङमा चौंरीको सुकुटीको माग धेरै छ । त्यसैले उपल्लो डोल्पाको छर्काभोट क्षेत्रका किसानबाट किनेर यो खेपमा एक सय ५० भन्दा बढी चौंरी बेच्न जोमसोम ल्याइएको छ,’ डोल्पा छर्काका व्यवसायी पाल्तेन छेतेनले सुनाए ।
डोल्पाको उपल्लो क्षेत्रमा नुनलगायत खाद्यान्न बोक्न चौंरीको प्रयोग अधिक हुने गरेको छ । छेतेनले यसअघि च्यांग्रा म्याग्दी, बागलुङ पुर्याउँथे । पछिल्लो समय तिनको मूल्य बढेपछि छेतेन चौंरी व्यवसायतिर लागेका हुन् । ५०–६० हजार रुपैयाँमा चौंरी किनेर जोमसोममा ल्याई ७०–८० हजारमा बेच्ने गरेको डोल्पा सीमावर्ती मुस्ताङी बस्ती साङ्ताका अर्का व्यवसायी छेवाङ ढिके गुरुङले जनाए । उनले केही सुकुटी आफैं बनाएर पनि बेच्छन् ।
मुस्ताङको हिमाली क्षेत्रमा हिउँदको सिजनमा मासुको सुकुटी बनाइन्छ । असोजपछि सुकुटी बनाउने सिजन सुरु हुन्छ । हिउँदमा हिमाली चिसो हावाले सुकेको सुकुटी स्वादिलो हुन्छ । ‘घाममा सुकाएको भन्दा शीतल छायामा सुकाएको सुकुटी स्वादिष्ट हुन्छ । गर्मी सिजनमा सुकुटीबाट गन्ध आउने भएकाले हिउँदको चिसो मौसममा सुकुटी बनाई ओभानो र शीतल कोठामा कपडामा मोडेर राख्दा लामो समयसम्म टिक्छ,’ सुकुटी व्यवसायी महेन्द्र गुरुङले भने । मुस्ताङको मुख्य कोसेली भनेकै स्याउ, सुकुटी र रक्सी (ब्रान्डी) रहेको व्यवसायी सुन्दर थकालीले बताए, ‘यहाँका थकालीको घरमा पाहुनाको स्वागतमा सगुनसँग सुकुटी राख्ने र सहरका आफन्तलाई कोसेली पनि सुकुटी पठाउने संस्कार नै छ,’ उनले भने ।





