काठमाडौँ — नागरिकताका विषयमा उजुरी परेपछि रवि लामिछानेको उम्मेदवारीको योग्यतामाथि प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले अमेरिकी नागरिकता नत्यागेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । राजकुमार पाण्डेले मंगलबार आयोगमा दिएको उजुरीमा अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग छ ।

यस विषयमा चितवन–२ को निर्वाचन अधिकृत कार्यालयले सात दिनभित्र जवाफ दिन भन्दै लामिछानेलाई पत्र पठाएको छ । लामिछाने अर्कै जिल्लामा भएकाले पत्र राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सचिव कृष्ण भुसालले बुझेका छन् ।

 

लामिछानेले भने नागरिकताको विवाद सन् २०१८ मै सल्टिएको दाबी गरेका छन् । सोही आधारमा आफूले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएको उनको अर्को दाबी छ । ‘अमेरिकी नागरिकता प्राप्त गर्नका लागि आफ्नो देशको नागरिकता छोड्नुपर्दैन, छोड्नु नपर्दाखेरि कायमै रहिहाल्यो,’ उनले कान्तिपुरसँग भने । सन् २०१४ को अन्त्यतिर आफूले अमेरिकी नागरिकता लिएको र त्यतिबेला नेपाली नागरिकता वाहकले विदेशी नागरिकता लिँदाको नेपालको कानुनी व्यवस्थाबारे ख्याल नगरेको उनको भनाइ छ ।

 

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः कायम नरहने उल्लेख छ । नेपाल नागरिकता नियमावली, २०६३ ले भने विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

 

जसमा नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति संलग्न गरी सूचना दिनुपर्ने र सूचना प्राप्त भएको ७ दिनभित्र नेपाली कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा लेखिपठाउनुपर्ने र नागरिकता खारेजीको प्रक्रिया थाल्ने उल्लेख छ । नागरिकता खारेजीको सूचना अभिलेख गर्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here