काठमाडौँ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘भगवत् गीता’का लागि नायकको खोजी गरिएको छ । फिल्ममा नायिका सुहाना थापाको जोडी कलाकारका लागि अडिसन खुला गरिएको छ।

नायक धिरज मगरलाई निर्माण यूनिटले लिने तयारी गरेको भएता पनि पारिश्रमिकमा कुरा नमिल्दा धिरज ‘भगवत् गीता’का लागि नायक नबन्ने पक्का भएसँगै निर्माण यूनिटले लभ स्टोरी जनराको यो फिल्मका लागि २० देखि २५ बर्ष उमेरका नायकको खोजी सुरु गरेको छ ।

आगामी वैशाख १ मा रिलिज मिति लक गर्दै फिल्म निर्माण गरेका निर्माता सुनिलकुमार थापाले अभिनेता नहुँदा फ्लोरमा जान पाएका छैनन्। झरना थापाको निर्देशनमा बन्ने यो फिल्ममा विभिन्न चरणमा नाम चलेको केही अभिनेताको नाम जोडियो। तर उनीहरू फिल्ममा काम गर्न तयार भएनन्। त्यसैले फिल्मको छायांकन सुरु हुन् सकेको छैन।

 

लामो समयदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि भनेजस्ता चकलेटी हिरो पाएको छैन । त्यस्तै यो फिल्मका लागि बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० बर्ष उमेरका बालकको खोजी गरिएको छ । फिल्ममा बालकलाकारको भूमिका निर्वाहका लागि ८–१० वर्षका बालकले अडिसन दिन पाउने छन्। अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडिओ बनाउँदै सुहाना इन्टरटेन्मेन्टको मेलमा पठाउनु पर्नेछ।

 

२ सेड्यूलमा छायांकन गर्ने तयारी गरिएको फिल्म आउँदो बर्षको पहिलो दिन बैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्मको छायांकन जनकपुरमा गर्ने र फागुणमा दार्चुलामा गर्ने तयारी गरिए पनि अहिले समय हेरफेर गरेर छायांकन गर्ने तयारी निर्माण यूनिटले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here