सर्जन कुमार शाही, मुगु
बाढी र पहिरोका कारण क्षति पुगेसँगै अवरुद्ध भएको विद्युत् झन्डै दुई महिना लगाएर क्यानल तथा नहरको मर्मत कार्य सम्पन्न गरी शुक्रबारबाट सञ्चालनमा आउने भएको हो ।
कात्तिकमा मुगु गमगाड वितरण केन्द्रमा अनुगमनका क्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवरुद्ध विद्युत् एक महिनाभित्र मर्मत कार्य सम्पन्न गरेर सुचारु गर्न मुगु गमगाड वितरण केन्द्र कार्यालयलाई निर्देशन दिनुभएको थियो ।
असोजमा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाड जलविद्युतको क्यानल तथा नहरमा क्षति पुर्याएको थियो ।
नेपाल विद्युत् प्राधिकरण गामगाड वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश पौडेलले कार्य स्थलमा आउजाउ गर्ने बाटो पनि वर्षाले क्षति गरेकाले सदरमुकाम गमगढीबाट सरिया र सिमेन्ट निर्माणस्थलसम्म ढुवानी गर्न असहज भएकाले निर्माण तथा मर्मत कार्यमा केही ढिलाइ भएको बताए। गमगाड वितरण कार्यलय प्रमुख पाैडेलले भने ‘क्यानल तथा नहर गरी दुई सय ५७ मिटर पूर्णरुपमा निर्माण तथा मर्मत गर्ने कार्य सम्पन्न भएको छ’।
परीक्षण कार्यका लागि एक हप्तासम्म क्यानल तथा नहरमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् सञ्चालनमा ल्याउने केन्द्रको तयारी छ । उक्त अवधिभित्र क्यानल तथा नहरमा कुनै पनि समस्या नआएको खण्डमा त्यस लगत्तै २४ घण्टा विद्युत् सञ्चालनमा आउने पौडेलले जानकारी गराए।
लामो समयसम्म अवरुद्ध उक्त विद्युत् सञ्चालनमा आउने भएसँगै स्थानीय खुसी भएका छन् ।





