काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक ज्ञानबहादुर शाहीले सरकारी बजेट र विकासका योजनामा पनि समावेशिता लागू हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाइ ज्ञापन गर्दै उनले सरकारले कर्णालीलाई फरक भूगोल जस्तै गरी व्यवहार गरिरहेको बताए ।
‘देशमा सुरूङमार्गको बहस छ, फास्ट ट्रयाक र हुलाकी राजमार्गको गफ हुन्छ । तर कर्णाली राजमार्ग वर्षौंदेखि मृत्युमार्ग बनिरहेको छ । यहाँ स्तरोन्नति र अर्को वैकल्पिक राजमार्ग बनाउने होइन, यो सडकमा एक रुपैयाँ बजेट लगाइएको छैन,’ शाहीले भने, ‘यो सडक बनेपछि यहाँका १९७ जनाले ज्यान गुमाइसकेका छ्न । ८०० मान्छे जीवनमरणको जीवन बाँचिरहेका छन् । हामीले विकासलाई पनि समान दृष्टिकोणले हर्न सक्नुपर्छ । होइन भने जुम्ला यो देशको भूगोल हो कि होइन ? जवाफ दिन सक्नुपर्छ ।’
उनले ०२९ सालमा बनेको सिमिकोट विमानस्थलको स्तरोन्नतिका लागि बजेट अभाव हुँदा पनि सरकारले लगानी गर्न नचाहेको बताए । उनले शिक्षा र स्वास्थ्यको सुधारका लागि दलहरूले ठुल्ठूला भाषण गरे पनि व्यवहारमा वर्षौंदेखि सुधार हुन नसक्नुका राजनीतिक दलहरू नै दोषी रहेको बताए । ‘हामी ठूला ठूला भाषण गर्छौं तर त्यो साधारण जनताको जीवनमाथिको राजनीतिमात्रै हुन्छ,’ उनले भने, ‘सबैभन्दा पहिले सम्माननीय, माननीयज्यूका छोराछोरीलाई, सदस्यहरूलाई नेपालका सरकारी विद्यालयमा पढाऔं, नेपालकै अस्पतालमा उपचार गर्न थालौं तब शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार हुन्छ ।’





