चितवन। टिकटक बनाउँन नारायणीमा जादा डुबेर १३ वर्षकी सुरज्ञा न्यौपाने बेपत्ता भएकी छिन् । भरतपुर–१५ मा रहेको विश्वप्रकाश माविमा गत शनिबार बिहान कक्षा ८ को परीक्षा दिन स्कुल गएकी सुरज्ञा न्यौपाने (आरिस्मा) त्यो दिन दिउँसो अबेलासम्म घर फर्किनन् । भरतपुर–१५, जानकीचोकस्थित घरमा उनकी दिदी र भाइ सुरज्ञालाई कुरेर बसिरहे ।
सुरज्ञाकी आमा साउदी अरबबाट फर्केका आफ्ना श्रीमान् नारायण न्यौपानेलाई लिन काठमाडौँ गएकी थिइन् । विश्वप्रकाश माविले अन्तिम परीक्षाको तयारीका लागि साप्ताहिकरुपमा विभिन्न कक्षाहरुको आन्तरिक परीक्षा शनिबार पनि लिइरहेको छ । परीक्षा दिन शनिबार बिहान घरबाट हिँडेकी सुरज्ञा अबेलासम्म घर नफर्केपछि उनकी दिदीले साथीभाइलाई फोन लगाउन थालिन् ।
सुरज्ञाका मामा प्रकाश गैरेले भने, ‘साथीकहाँ गएकी भन्ने अड्कलबाजी गर्दैगर्दा गाउँमा सुरज्ञा टिकटक बनाउने क्रममा नारायणी नदीमा डुबेको खबर फैलियो । लगत्तै स्थानीय, प्रहरी सबैलाई खबर ग¥र्यौँ । घटनास्थल पुग्यौँ, उनीसँगै गएका साथीहरुले टिकटक बनाउँदाबनाउँदै नारायणी नदीमा डुबेर बेपत्ता भएको कुरा सुनाए ।’
सुरज्ञा आफूसँग पढ्ने ९ जना साथीसँग ज्ञानेश्वर सामुदायिक वननजिक नारायणी नदीको चट्टाने भँगालोमा टिकटक बनाउन गएकी थिइन् । चार वर्षपछि साउदीबाट आइतबार सुरज्ञाको बुबा घर फर्केका छन्, बाबुछोरीको भेट पनि हुन पाएको थिएन । घरमा सबैजना भावविह्वल भएका छन् । आफन्त र इष्टमित्र घरमा चिन्तित बुबाआमालाई सम्झाइरहेका छन् ।
नारायणी नदीमा पौडी खेलेर टिकटक बनाउन गएका सबै विश्वप्रकाशका कक्षा ८ का विद्यार्थी हुन् । कोही विद्यार्थी घर नआई र कोही घर आएर मोबाइल लिई टिकटक बनाउन नारायणी नदी गएका स्थानीय बताउँछन् । पौडी खेलेर टिकटक बनाउने क्रममा सुरज्ञा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शी विद्यार्थीलाई उद्धृत गर्दै सुरज्ञाका मामा पोमनारायण गौतमले भने ।





