‘वनभोजमा गएकाहरू व्यक्तिपच्छिे फरक-फरक कुरा गरिरहेका छन्। प्रहरीले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ मृतकका छिमेकी दिनेश चन्दले भने।
मृतक बुडालसँग वनभोजमा गएकाहरूले रमाइलो गर्नेक्रममा उनी पौडी खेल्न केही माथि गएको र धेरैबेरसम्म नआएपछि खोजी गर्दा आफूहरूले फेला पार्न नसकेको बताएका छन्।
उनीहरूले नदीमा एक्कासि पानीको सतह बढेकाले मृतक बुडाल बगेको हुन सक्ने बताएका छन्। ‘चमेलियाको किनारमा हामी रमाइलो गर्दै थियौँ, जीवनले केहीमाथि गएर पौडी खेल्छु भन्यो,’ सँगै गएका उनका भिनाजु नारायणसिंह ऐरी भन्छन्, ‘मैले दुई चोटी नजानु भनेको थिए, १५-२० मिनेटसम्म नआएपछि खोज्न गयौँ। तर, कतै नभेटेपछि उसको लुगा र मोबाइल लिएर एक किलोमिटर तल आयौँ।’
तल आएर खाना खाएपछि करिब दुई घण्टाको बाटो पार गरेर शेरा प्रहरी चौकीमा उक्त कुरा जानकारी गराएको उनले बताए।
वनभोजमा गएकाहरूले चमेलियामा सतह बढेको बताए पनि चमेलिया जलविद्युत् आयोजनाले भने ड्याम नखोलिएको बताएको छ। चमेलिया जलविद्युत् आयोजनाका प्रमुख पुरन सोब भन्छन् ‘आजभोलि पानीको बहाव घटेर ३० मेगावाटको ठाउँमा ११ मेघावाट मात्र बिजुली उत्पादन भइरहेको छ। जलाशयमा पानी नै छैन।’
दिउँसो १ बजे बेपत्ता भएको बुडालबारे साँझ ६ बने मात्र खबर पुगेको प्रहरीले बताएको छ। प्रहरीले उनको खोजी गर्दा वनभोज स्थलभन्दा केही टाढा नदीमा लास फेला पारेको थियो। सोमबार मृतक बुडालको पोस्टमार्टम गरिएको छ।





