कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।शुक्रबार १३ औं नगरसभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गरिन् ।
नगरसभामा पालिका उपप्रमुख सुवेदीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्ब ७ करोड ७४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभामा नगर प्रमुख आचार्यले आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । तहगत नमुना विद्यालय विकास गरी सामुदायिक विद्यालयका टिनका छाना क्रमशः विस्थापित गर्ने, यसै आर्थिक वर्षदेखि स्रोतको मूल्यांकन गरी स्रोतसाधनको समुचित प्रयोगबाट टिनका छाना विस्थापन र जिप्सन जडान कार्य थालनी गरिने नीति कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तिहरु पक्की सडकले जोडिने र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्राथमिकीकरण गरी स्तरोन्नती गरिने भएको छ ।





