लामो दूरीका सार्वजनिक सवारी साधन भदौ १ गतेबाट नचल्ने

कोराना महामारीबाट प्रभावित लामो दूरीका सार्वजनिक सवारीका साधन भदौ १ गतेबाट चल्न नदिने भएको छ ।
आइतबार बसेको कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान थप १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ ।
यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक सवारी, बाह्य तथा अन्तरिक हवाइ उडान र विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो ।
तर सीसीएमसी बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भदौ १ गतेबाट खुला गर्ने भनिएका सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव गरेको हो। सीसीएमसीको प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि औपचारिक निर्णय हुनेछ ।




