काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारको १५ दिनमा सरकारले ३ प्रतिशत बजेट खर्च गरेको छ ।

अघिल्ला वर्षहरुमा आर्थिक वर्षको अन्तिम महिनामा २० देखि २५ प्रतिशतसम्म बजेट खर्च हुने गरेको भए पनि यस वर्ष भने असार लागेयता ३ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको हो ।

जेठसम्म ७४ प्रतिशत बजेट खर्च भएकामा असार १५ सम्म आइपुग्दा ७७ प्रतिशत भएको छ । पुँजीगततर्फ जेठसम्म ४० दशमलव २४ प्रतिशत खर्च भएकोमा अहिले ४३ दशमलव ४३ प्रतिशत पुगेको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता शम्भु मरासिनीको भनाइ छ ।

असार लागेयता राजस्व संकलन भने १ प्रतिशत मात्रै बढेको छ । असारमा आयकरको अन्तिम किस्ता बुझाउनुपर्ने भए पनि अहिलेसम्म राजस्वमा संकलन ६१ दशमलव ६९ प्रतिशत मात्रै भएको छ ।

एक खर्ब ६८ अर्ब बजेट पाएको भौतिक पूर्वाधार मन्त्रालयले ८४ अर्ब ६७ करोड अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै ५९ अर्ब पाएको सहरी विकास मन्त्रालयले ३७ प्रतिशत अर्थात् २२ अर्ब खर्च गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले असारमा मात्रै ७ प्रतिशत बजेट खर्च गरेको छ भने शहरी विकास मन्त्रालयले ३ प्रतिशत खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले पुँजीगततर्फ १८ अर्ब बजेट पाएकामा ९ अर्ब खर्च गरेको छ । त्यस्तै खानेपानी मन्त्रालयले पुँजीगततर्फ २१ अर्ब पाएकामा अहिलेसम्म ८ अर्ब मात्रै खर्च गरेको छ । ऊर्जा मन्त्रालयले ३७ अर्ब पुँजीगत बजेटमध्ये २४ अर्ब खर्चिएको छ । कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here