काठमाडौं । ‘अब जान्नेलाई छान्ने’भन्ने नारा लिएर निर्वाचन जितेका एकजना मानवीय संवेदना हराएको माननीयको बारेमा केही शब्द लेखिँदैछ ।
मानवीय संवेदना हराएका ती माननीयको नाम हो, डा. तोसिमका कार्की । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचन जितेकी तोसिमाको संवेदनाहीनताका भिडियो फुटेज अहिले आलोचनाको केन्द्रमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नी सीता दाहालको निधनमा संवेदना व्यक्त गर्न पुग्ने क्रममा सोधेको एक प्रश्नमा उनले भनेकी छन्–
‘………हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । त्यही भएर उहाँ ब्यालेन्स नै तरिकाले लाग्नुभएको भन्ने बुझ्छु । …… अहिले विछिप्त भएको अवस्थामा धेरै टिकाटिप्पणी नगरौँ ।’
उनले थप भनेकी छन्– प्रधानमन्त्रीले पटक पटक यसरी परिवारका सदस्यहरु गुमाउँदै गर्दाखेरी उहाँले फर्केर आफू द्वन्द्वकालमा हुँदैगर्दा आफ्नो परिवारका सदस्यहरु, श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि सम्झनुपर्छ । आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ ।
तोसिमाले क्रान्तिमा सीता दाहालले व्यतित गरेका केही संघर्षका कथाबारे पनि बोलेकी छिन् । श्रीमान पुष्पकमल दाहाललाई श्रीमती सीता दाहालले दिएको साथको विषयमा पनि बोलेकी छिन् ।
जेहोस्, तोसिमाले आफ्नो बोलीमा माननीयको गरिमा कायम गर्न सकेकी छैनन् । माननीयको केटाकेटीपन उनको बोलीमा प्रष्टसँग छचल्किएको छ । उनको बोलीपछि भइरहेको आलोचनाले उनमा परिपक्वताको खाँचो रहेको विषय मात्रै औल्याएको छैन, उनले प्रतिनिधित्व गरेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको धरातलीय यथार्थबारे पनि प्रश्न उठिरहेको छ ।
मान्छे भएपछि संवेदना, हर्ष र विस्मात सबैखाले कुरा हुनुपर्ने हो । तर, माननीय तोसिमका कार्कीले विक्षिप्तताको क्षणमा किन संवेदना गुमाए ? यो एउटा सोचनीय विषय पक्कै बनेको छ । तोसिमाले माननीय हुँदै गुमाएको मानवीय संवेदना संस्कार विहीनताको अर्को पराकाष्ठा पनि हो । यसबाट के प्रष्ट हुन्छ भने किताबी ज्ञान मात्रै समाज परिवर्तनको आधार होइन ।
तोसिमा कार्की र उनीहरुजस्ता संवेदना गुमाएकाहरुले बुझ्र्नैपर्ने विषय के हो भने घाटमा पुगेका हामी सबै मलामी हौँ । मलामीसँग संवेदना त हुनुपर्ने हो । आरोप प्रत्यारोपको मैदान त अरु पनि थियो, घाटमा विरोधका कुण्ठा पोखेर महान् त के मान्छे बन्न पनि गाह्रो हुन्छ, माननीय त धेरै परको कुरा भयो ।
हुन त, माननीय तोसिमका कार्कीको असली अनुहार यसअघि पनि देखिसकेको हो । कि एउटै भवन शिलान्यासमा दुईवटा रिबन काट्ने होडबाजीदेखि प्रेम सञ्जेललाई भेट्न आइसीयुमा क्यामेरा लिएर गई स्टन्टबाजी गर्ने माननीय पनि त ताेसिमा कार्की नै हुन् ।
अन्तिममा, कवि अर्जुन पराजुलीको यो कविता मानवीय संवेदना हराएका माननीयका लागि ।
मलामी जाने भनेको
मलम लाउन जाने हो महोदय,
बदला लिन जाने होइन !
घाटमा गएर पनि बदला के लिनु
भोलि आफू पनि जानु त्यहीँ छ !
उज्यालो ।





