कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा सेप्टिक ट्यांकीमा फसेर वयस्क हात्ती मरेको छ । बुधबार राति सेप्टिक ट्यांकीमा झरेको हात्ती मृत भेटिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीका अनुसार अन्दाजी २५/३० वर्षको वयस्क हात्तीको लिंग पहिचान हुन सकेको छैन । सेप्टिक ट्यांकीमै भएका कारण लिंग पहिचान हुन नसकेको उनले बताए ।
वातावरण मध्यवर्ती सामुदायिक वनकै भवन छेउको सेप्टिक ट्यांकीमा फसेको हात्तीको शव निकाल्ने प्रयास भइरहेको जोशीले बताए ।
हात्तीको चारै खुट्टा सेप्टिक ट्यांकीभित्र पसेको छ । ट्यांकीको दिवालमै घाँटी ठोक्किएर चोट लागेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । सामुदायिक वनमा बाँसको झाडी छ । उक्त हात्ती केही दिनदेखि बाँस खान नियमित रुपमा आउने गरेको थियो । बुधबार राति दुई/तीन बजेतिर हात्ती ट्यांकीमा फसेको स्थानीयले बताए ।
सहायक संरक्षण अधिकृत ऐरका अनुसार अहिले हात्तीलाई ट्यांकीबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ ।





