चितवन — नारायणगढ-मुग्लिङ सडकमा पर्ने नाम्सी पुलमा सोमबार साँझ आठ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक दुईवटा मेसिनले सफा गरिरहे पनि पहिरो सफा गरेर गाडी चलाउन समय लाग्ने देखिन्छ ।
भरतपुरको डिभिजन सडक कार्यालयले मंगलबार बिहान सूचना निकालेर काठमाडौं आउजाउ गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । कम्तीमा मंगलबार बिहानभर बाटो खुल्ने सम्भावना नरहेको डिभिजन सडक कार्यालयका अधिकारीहरूको अनुमान छ ।
नारायणगढ मुग्लिङ सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी साना-ठुला गाडी आवतजावत गर्छन् । केही वर्षयता बर्खा लागेपछि यो सडकमा पहिरोले सधैँ दुःख दिने गरेको छ ।





