काठमाडौँ — इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख (प्रहरी नायब उपरीक्षक) डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । केसीले १८ लाख रुपैयाँ घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले केसी बुटवल हुँदा २०७९ मंसिर २५ गते उनको निवासबाट नगद र सुन बरामद गरेको थियो । त्यसबेला उनको घरबाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुनसहित नगद बरामत भएको थियो । त्यसपछि उनी पदबाट बर्खास्त भएका थिए ।
बरामद भएको सुनका विषयमा कार्यालयमा जाहेर नगरी सम्बन्धित व्यक्तिबाट घुस लिएर लेनदेन मिलाउन लाग्दा पक्राउ परेका उनीविरुद्ध अख्तियारले बुधबार मुद्दा दर्ता गरेको हो । उनले १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई सम्बन्धित व्यक्तिसँग मोलमोलाई गरेर १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
अख्तियारले १८ लाख रुपैयाँ विगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।





